Butwal Today

हामीले महाभारतका यदुवंशीय सेना होइन, बाबुराम–जनार्दन जस्ता कृष्ण रोज्यौँ: सुदन किराती

७ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीभित्र लामो समयदेखि नेतृत्वको पुस्तान्तरण र पार्टी रूपान्तरणको पक्षमा उठाएको मुद्दा सुनवाइ नभएपछि विद्रोहको निर्णय गरेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभा गृहमा आयोजना भएको पार्टी एकता सभालाई सम्बोधन गर्दै किरातीले ३७ वर्षसम्म पार्टी नेतृत्वमा रहँदा जेनजी विद्रोहलाई अस्वीकार गरी पार्टीलाई ‘वृद्धाश्रम’ जस्तो बनाएकोले विद्रोह गर्नुपरेको बताए ।

‘२४० वर्षको राजतन्त्र ढाल्न सक्षम नेताहरू आफैं पार्टीभित्रका परिवारतन्त्र विरुद्ध पराजित भए । लोकतन्त्र नेतातन्त्र र नातातन्त्रमा रुपान्तरण भयो । लोकतन्त्रका लागि लडेका नेताहरू भ्रष्टतन्त्रमा परिणत भए ।

जेनजी युवाहरूको सडकमा रगत सुक्न नपाउँदै प्रतिक्रान्तिको हुंकार उठ्न थालेको छ,’ उनले भने । ‘हामीले महाभारतका यदुवंशीय सेना रोजेनौँ ।

हामीले बाबुराम, जनार्दन, राम कार्की र ओजस्वी भट्टराई जस्ता कृष्ण रोज्यौँ । हामीले लामो समयदेखि पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको मुद्दा उठायौँ, तर ती ठूला पार्टीका नेताहरूले हाम्रा मुद्दा वृद्धाश्रममा पठाए ।’

उनले थपे, ‘हामीले एक थान पार्टी मात्र खोल्न चाहेका छैनौँ । हामीले जनताको सेवा गर्न विधि र विचारसहितको पार्टी खोल्न चाहेका हौँ । आजदेखि नयाँ जिम्मेवारीको प्रारम्भ गरेका छौँ ।

कम्युनिस्ट पार्टी छोड्नुभयो भन्नुभयो भने हामी पार्टी त्यही छोडेका छौँ, तर हामी आफ्नो गद्दी बोकेर आएका छौँ ।’

जेनजी विद्रोहपछि पनि प्रतिक्रान्तिको आवाज फेरि गुन्जिन थालेको भन्दै उनले विदेशी षड्यन्त्र देख्न खोज्नु विडम्बना भएको बताए ।