© २०२३
काठमान्डौ, ७ मंसिर ।
मोरङको विराटनगरमा नेता महेश बस्नेत सवार गाडीमा आज बिहान छ्यापिएको रातो मसी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थीहरूले फ्याँकेको खुल्न आएको छ । एयरपोर्ट लाइनस्थित सडकमा प्रहरी भ्यानको पछाडि गुडिरहेको बस्नेत सवार कारतर्फ दुई युवा दगुर्दै आएर मसी फ्याँकेका थिए ।
बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै गर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । मसी फ्याँकिएलगत्तै गाडी रोकिएको थियो र प्रहरी टोलीले दुई युवालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले पुष्टि गरेको छ ।
सन्जोग गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् र उनी संस्थापनइतर समूहमा आवद्ध छन् । डा. शेखर कोइराला समूहले उनलाई महेन्द्र मोरङ क्याम्पस नेविसंघ इकाइ सभापति बनाएको थियो । सो इकाइमा संस्थापन समूहका सभापति प्रशान्त यादव रहेका छन् । अर्पित कुँवर पनि नेविसंघ निकट रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
घटनापछि नेता बस्नेतले आफू सहभागी हुन लागेको कार्यक्रममा अवरोध पुर्याउने उद्देश्यले मसी फ्याँकिएको भन्दै यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ बताएका छन् ।
बस्नेत सुनसरीको इटहरी पुगेपछि जेनजी समूहका युवाहरूले सुनसरीको दुहबीमा पनि विरोध प्रदर्शन गरेका छन् ।