Butwal Today

प्रतापपुरमा ९२ जना कर्मचारी कटौती

७ मंसिर २०८२, आइतबार
अ+
अ-

सुनवल, ६ मङ्सिर ।

कर्मचारी अभावका कारण सेवा प्रवाहमा असर परेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले विशेष गाउँ सभाको आयोजना गरेर कर्मचारी थप गर्ने निर्णय गरेको छ ।

शुक्रबार आयोजित विशेष गाउँ सभा मार्फत २१ जना कर्मचारी थप गर्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो । खर्च कटौतीका लागी सङ्घीय सरकारको परिपत्र अनुसार एकै पटक ९२ जना कर्मचारी गाउँपालिकाले कटौती गरेपछि गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाहमा समस्या सृजना भएको हो ।

गाउँ सभामा गाउँपालिकाको आन्तरिक स्रोत वृद्धि गर्ने र अत्यावश्यक कर्मचारी तत्कालै व्यवस्थापन गर्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । गाउँ सभाले गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) स्वीकृत गर्दे अत्यावश्यक कर्मचारी पदपूर्ति गर्ने अधिकार कार्यपालिकालाई प्रदान गरेको छ ।

साथै कर्मचारी भर्ना गर्दा बढ्न जाने व्ययभार व्यवस्थापनका लागी आन्तरिक स्रोत वृद्धि गर्न विभिन्न आयमूलक कार्य सुरु गर्ने प्रस्ताव पारित भएको छ ।

खजुरा खोलाबाट नदीजन्य पदार्थ निकाल्न तयार भएको आइइ स्वीकृत गर्ने, पालिका भित्रका घोला तथा माछा पोखरीको आय ठेक्का गर्ने, हाट बजारहरूको आय ठेक्का गर्ने र पशु हाटबजार सञ्चालन गर्ने निर्णय विशेष गाउँ सभाले गरेको छ ।

गाउँपालिकामा हाल २२ जना स्थायी दरबन्दी, २ जना करार दरबन्दी र प्रदेश तथा सङ्घीय सरकारका विभिन्न कार्यक्रम अन्तर्गत १७ जना कर्मचारी गरी ४३ जना कार्यरत छन् । अत्यावश्यक थप गरेपछि ६७ जना कर्मचारी पुग्ने छन् ।

यस्तै गाउँ सभाले सार्वजनिक खर्च मापदण्ड निर्देशिका कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अनिता बि.क थारुले जानकारी दिइन् । अहिले गाउँपालिकाको रोजगार, भूमि व्यवस्था र महिला बालबालिका शाखा कर्मचारी नहुँदा बन्द छन् ।

शाखा नै बन्द गर्नुपर्ने अवस्था आएपछि केही कर्मचारी थप गर्न आवश्यक देखिएकाले विशेष गाउँ सभा आयोजना गरिएको गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।नयाँ कर्मचारी भर्ना आह्वान गर्दा पनि पुराना कर्मचारीलाई प्राथमिकता दिने उनले सभामा जानकारी दिए ।

आफ्ना मान्छे भर्ती गर्न कर्मचारी थप गर्न लागिएको नभई सेवाप्रवाहनै बन्द हुने अवस्थामा रहेको र दमकल सञ्चालनका लागी पनि कर्मचारी आवश्यक परेकाले कर्मचारी थप गर्न लागिएको उनले प्रष्टीकरण दिए ।

आन्तरिक स्रोत वृद्धि गरेर मात्र कर्मचारी थप गर्ने बताउँदै उनले स्रोत वृद्धि गर्न काम सुरु भइसकेको जानकारी दिए । प्रतापपुर गाउँपालिकाको वार्षिक आन्तरिक आय एक करोड तीस लाख हाराहारी रहेको छ, त्यसलाई वृद्धि गरेर तीन करोड सम्म पु¥याउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।