© २०२३
काठमाडौं, ७ मंसिर ।
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंकले बढेको छ ।
सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु हुनासाथ नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोडको कारोबार भएको छ । लगानी र जीवन बीमा समूह २ प्रतिशतभन्दा बढी बढेका छन् ।
बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०.२५ प्रतिशतले बढेका छन् ।
तीन कम्पनी—सागर सिस्टिलरी, बन्दीपुर केबुलकार र झापा इनर्जी—को मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, स्वस्तिक लघुवित्त ८.१९, छ्याङ्दी हाइड्रोपावर ६.२९, जोशी हाइड्रोपावर ५.९३ र समता घरेलु लघुवित्त ४.९७ प्रतिशतले बढेका छन् ।
पिपुल्स हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ७.६५ प्रतिशतले घटेको छ । मोदी इनर्जी ४.४९, सप्तकोशी विकास बैंक ४.४७ र सिन्धु विकास बैंक ४.१८ प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, राधि विद्युत्, नेपाल पुनर्बीमा र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन् ।