Butwal Today

हाम्रो बाटो कठिन छ, अब जनताको इतिहास लेखिने छ : सन्तोष परियार

७ मंसिर २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, ७ मंसिर ।

रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले आफूहरू हिँडिरहेको बाटो सहज नभएको बताएका छन् ।

उनले कठिनाइ थाहा हुँदाहुँदै पनि सधैं सजिलो बाटो रोज्ने छुट आफूहरूलाई नभएको बताए ।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावना समेट्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

‘अग्रज पुस्ता र जेनजी युवालाई सँगै लिएर हाम्रो पुस्ताले अब ठूलो संघर्ष गर्नुपर्ने अवस्था आएको छ । यही संघर्षको यात्रामा आज हामी वृहत् एकता घोषणा सभा गर्दैछौं,’ सबैलाई प्रगतिशील राष्ट्रिय अभियानमा जोडिन आह्वान गर्दै परियारले भने, ‘यदि आज पनि हामी समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन, बेइमान पुस्ता भन्नलाई छोड्ने छैन । त्यसैले संघर्ष गरौँ । यो सजिलो बाटो होइन, तर हामी सधैं सजिलो बाटो हिँड्न पाउँदैनौं ।’

कार्यक्रमको अध्यक्षता गरेका परियारले जेनजी आन्दोलनपछि देखिएको राजनीतिक घटनाक्रमले देश संकटतर्फ धकेलिएको दाबी गर्दै सबै वामपन्थी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई संकिर्णता त्यागेर अभियानमा जोडिन आग्रह गरे ।

उनले आजसम्म शासकहरूको इतिहास मात्र लेखिएको भन्दै अब जनताको इतिहास लेखिनु पर्ने समय आएको बताए । केही भनाइहरू उद्धृत गर्दै परियारले भने, ‘रुख त आजभन्दा २० वर्षअघि नै रोपिनुपर्थ्यो, तर अब ढिला गर्नु हुँदैन ।

जबसम्म शासकहरूको इतिहास लेखिदिने इतिहासकार रहन्छन्, तबसम्म शिकारको होइन, सिकारीको इतिहास लेखिन्छ । नेपालको इतिहासमा अहिलेसम्म सिकारी अर्थात् शासकहरूको कथा लेखियो, अब जनताको इतिहास लेखिनेछ ।’