© 2026
नवलपरासी, ०७ मङ्सिर ।
जिल्लाका तीन पालिकाको मिलनबिन्दु समेत रहेको पिडुरा झरही दोभान कुण्डमा रहेका गोहीलाई संरक्षण गर्ने तयारी गरिएको छ ।
उक्त क्षेत्रलाई गोही आरक्षण क्षेत्र घोषणाको तयारीमा स्थानीय जुटेका छन् । रामग्राम १७ पिपरहिया, पाल्हीनन्दन ३ कुस्मा र सरावल ४ पुर्नहा र ललितपुर गाउँको बिचमा रहेको करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको दोभान जलाशय र कुण्ड क्षेत्रलाई गोही आरक्ष क्षेत्रको रूपमा विकास र संरक्षण गर्न स्थानीय जुटेका हुन् ।
ती कुण्डमा दर्जनौँ साना ठुला गोही रहेकोले सो क्षेत्रलाई गोही आरक्ष क्षेत्र घोषणा गराउन पहल भई रहेको रामग्राम १७ का वडा अध्यक्ष कन्यैया मौर्यले बताए । बर्षायामा झरही र पिडुरा खोलामा घुम्ने र रमाउने गोहीहरू हिउँद र गर्मीमा पिडुराको कुण्डमा बास बनाई बस्दै आएको जनाए ।
अव्यवस्थित रूपमा रहेका गोहीलाई व्यवस्थित गर्न आवश्यक देखिएको छ । अव्यवस्थित गोहीहरूले स्थानीय स्तरमा जोखिम र चुनौती पनि बनेको छ, उनले भने–‘तर व्यवस्थित गर्न सकियो भन्ने पर्यटकीय क्षेत्रको रूपमा अवसरको रूपमा विकास गर्न सकिन्छ ।
यसका लागि स्थानीयवासी सबै तयार रहेको उनले दाबी गरेका थिए । वर्षौँदेखि बस्दै आएको गोहीलाई किन मार्ने ? उनले भने, त्यस क्षेत्रलाई बरु जाली तारले व्यवस्थित गरी जोगाउन सकियो भन्ने पर्यापर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिने अवस्था छ ।
गोहीहरूकै डरले कम्तीमा ती क्षेत्रमा वन तथा खोलानाला अतिक्रमणले पनि जोगिएको छ । जुन जलश्रोतको रूपमा स्थानीयले प्रयोग गर्दै आएका छन् । झरही खहरे खोला भए पनि पिडुरा खोलामा जमिनमुनिबाट नै पानी निस्कने मूल जस्तै छ, उनले थपे, त्यही भएर जतिसुकै सुख्खा भए पनि पिडुरा खोलाका पानी सुक्दैन । त्यसैले ती जलाशय र कुण्ड गोहीहरूको लागि सुरक्षित बास स्थान बनेको छ ।
गोहीका लागि सुरक्षित बास बनेको भए पनि सो क्षेत्रमा कहिले काही बाख्राहरू चर्न गएको बेला गोहीले आक्रमण गरी आहारा बनाउने गरेको वडा अध्यक्ष मौर्यले सुनाए । स्थानीयले बाख्रा हराएको कुरा उठ्दा गोहीले लगेको अनुमान गर्छन्, त्यो बेला पानी सुकाएर गोहीलाई नै नष्ट गरिदिने आक्रोश पनि पोख्ने गरेका छन् ।
तर अहिलेसम्म गाउँलेहरूलाई सम्झाई बुझाई राखिएको छ । तर अब गोहीको खतराले देखिएको चुनौतीलाई अवसरमा बदल्ने प्रयासमा जुटेका छौँ, उनले भने–‘लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरन कलवार जिल्लाकै मन्त्री हुन् । उनीसँग गोही आरक्ष क्षेत्र घोषणाका लागि कुरा भएको छ । उनी पनि त्यसमा सकारात्मक देखिएका छन् ।
रामग्राम नगरपालिका, सरावल र पाल्हीनन्दन गाउँपालिकाको जोडेको उक्त स्थानमा अन्य पर्यटकीय पूर्वाधार पनि रहेको हुँदा गोही आरक्ष क्षेत्र घोषणाले थप पर्यटनको क्षेत्रलाई बढावा दिइनेमा उनले विश्वास ब्यक्त गरेका थिए ।
पाल्हीनन्दन ३ कुस्मा स्थित कुटी पार्क समेत रहेको छ । त्यसै गरी सोही जलाशयसँग जोडिएको अनरीमाई मन्दिर, उत्तरबहनी (उत्तरायण) झरही नदी पनि भएकोले सांस्कृतिक पर्यटन पनि रहेका छन् । कुटी पार्कमा पनि विभिन्न मठमन्दिर रहेका छन् ।
स्थानीयले शव अन्त्येष्टि गर्ने स्थान (मासन घाट) पनि सोही क्षेत्रमा रहेको छ । त्यसै गरी सरावल गाउँपालिकाको ललितपुर गाउँमा मधेस सांस्कृतिक पार्क पनि सञ्चालनमा आएका छन् । मधेसका विभिन्न सांस्कृतिक कला प्रदर्शन गरिने क्षेत्र पनि रहेको हुँदा आन्तरिक तथा बाह्य पर्यटन केन्द्र बन्न सक्ने आधार उनले प्रस्तुत गरेका थिए ।
गोही आरक्ष क्षेत्रलाई सडक सञ्जाललाई पनि जोडेको उनको भनाइ थियो । उनका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गको बासा देखि महेशपुर जोड्ने बासा पिपरहिया महेशपुर सडक सोही क्षेत्र भएर गएको छ । त्यसैगरि पूर्वपश्चिम राजमार्गकै भुतहा देखि महेशपुर नाका जोड्ने भुतहा महेशपुर सडकले पनि उक्त क्षेत्रलाई जोडेको छ ।
३२ किलोमिटर लामो नेपाल गण्डक पश्चिमी नहर सिँचाइ प्रणालीका सेवा सडकले जोडिएको हुँदा पर्यटकलाई आउजाउमा पनि समस्या नहुने उनको भनाई थियो ।
गोही आरक्ष क्षेत्र बनाउन भइरहेको प्रयास सकारात्मक रहेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपकं ले त्यसका लागि गाउँपालिकाबाट हुने सहयोग र सहकार्यका लागि गाउँपालिका तयार रहेको बताए ।
ढिलो भए पनि गोही संरक्षण गर्ने प्रयास सकारात्मक रहेको छ, उनले भने, त्यसका लागि विस्तृत कार्य योजना बन्दा पाल्हीनन्दन गाउँपालिकाले के गर्नु पर्छ,भनेर दिइने जिम्मेवारी पुरा गाउँपालिको गर्ने छ । तर यो कार्य हुनु पर्छ, उनी उत्साही हुँदै भने,सङ्घ सरकार र लुम्बिनी प्रदेश सरकारलाई समेत साथमा लिई स्थानीय बासीसँग सहकार्य गरी अगाडि बढ्नु पर्छ ।
यता सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गोहीको संरक्षण गरी आरक्ष क्षेत्र बनाउने योजना खुसीको कुरा हो । सरावल गाउँपालिकाले के गर्नु पर्छ ? त्यसका लागि तयार रहेको उनको भनाई थियो ।
भारत सीमासँग जोडिएको यो क्षेत्रमा प्राकृतिक रूपमा रहँदै आएका गोहीको सरक्षणले आउने पुस्तालाई पनि प्राकृतिक संरक्षणको आभास गराउने छ, उनले उत्साह ब्यक्त गरे, पर्यापर्यटन र सांस्कृतिक पर्यटन दुबै जोडेर यो क्षेत्रमा भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सक्ने आधार बन्छ । भारतको महेशपुर मूल नाका भइरहेको हुँदा भारतबाट आउने पर्यापर्यटकलाई प्राकृतिक मनोरम दृश्य बनाई देखाउन सकिन्छ ।
स्थानीय विद्यार्थीलाई पनि सो पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउने नजिकको स्थान बन्नेमा उनले विश्वास ब्यक्त गरेका थिए । स्थानीय गोही आरक्ष क्षेत्र बनाउने कार्य सराहनीय भएको बन तथा वातावरण मन्त्री कलवारले यसका लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट पनि नियमसँगत आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए ।