© २०२३
नेपालगन्ज, ७ मङ्सिर ।
नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ ।
नेपाल एशोसियन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरिएको कार्यक्रम उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर तथा पर्यटन दिगो विकास परियोजनाका राष्ट्रिय परियोजना संयोजक श्रद्धा श्रेष्ठले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय सम्भावना रहेकाले पत्रकारिताका क्षेत्रबाट पनि उजागर गर्न जरुरी रहेको बताइन् ।
उनले पर्यापर्यटनको प्रबद्र्धनका लागि मिडिया र सरोकारवालाहरूबिच समन्वयात्मक भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
कार्यक्रमका सहभागीहरूले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न थप क्रियाशीलता बढाउने बताए ।
कार्यक्रममा नेपाल एशोसियन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स(नाटा) बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको विषयमा बाँकेमा पछिल्ला दिनमा छलफलहरू नियमित हुनु र पर्यटकीय क्षेत्र पहिचान गरी भ्रमणमा जाने अभ्यास सुरु भएको बताए ।
उनले भने, “यस्ता कार्यले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने छ, मिडियाकर्मीहरूको सहभागिता र भूमिका पनि सँगसँगै देखिन जरुरी छ ।”
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाई, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी र क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी लगायतले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले पत्रकारहरुको लागि अनुशिक्षण, अभिमुखीकरण तथा फेलोसिप जस्ता कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत ६० जना बढी पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप कार्की र फोटो पत्रकार प्रशिक्षक सुनिल बज्राचार्यले गरेका थिए ।