© २०२३
दाङ, ७ मङ्सिर ।
घोराही उपमहानगरपालिका–५, धर्नास्थित पाण्डवेश्वर मन्दिर परिसर, धारापानी पछिल्ला वर्षमा दाङको प्रमुख घुमघाम केन्द्रको रूपमा उदाउँदै धेरै आन्तरिक पर्यटक आकर्षित गर्न सफल बनेको छ। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र व्यवस्थित पूर्वाधारको मेलले यहाँ आउने आगन्तुकलाई एकै ठाउँमा विविध अनुभव दिलाइरहेको छ। दाङभित्रकै सर्वाधिक भेटिने गन्तव्यको रूपमा यसको पहिचान बलियो बन्दै गएको छ।
धारापानी पुग्दा ६९ वर्षीया कमला रेग्मीको अनुहारमा देखिने खुशी नै यहाँको लोकप्रियताको प्रमाणजस्तै लाग्छ। बर्दिया ठाकुरद्वाराबाट दिदीबहिनीहरूसहित आएकी उनी भन्छिन्, ‘‘धेरै सुनेकी थिएँ, देख्दा झनै मन पर्यो। त्रिशूल, ॐ पोखरी र पार्क सबै रमाइला रहेछन्।’’ उनको भनाइमा धारापानीले मन र आँखा दुवैलाई आनन्द दिने अनुभूति गराएको छ।
त्यस्तै, तुलसीपुर–१७ का सौरब केसी साथीहरूसँग वनभोजका लागि शनिबार धारापानी पुगेका थिए। अरूले गरेको प्रशंसा सुने पनि प्रत्यक्ष देख्दा छुट्टै अनुभूति हुने भन्दै उनले यो क्षेत्र छिट्टै पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे।
धारापानी परिसरमा पञ्चधातुबाट निर्मित ५५.५ फिट अग्लो त्रिशूल अहिले सबैभन्दा आकर्षक केन्द्र बनेको छ। पोखरी र पार्कको निर्माणले मन्दिर परिसरको सौन्दर्य अझ बढेको छ। घोराही बजारदेखि जम्मा नौ किलोमिटर दूरीका कारण निजी सवारीसाधन, सार्वजनिक बस र अटोरिक्साबाट यहाँ सहजै पुग्न सकिने भएकाले दैनिक आगन्तुकको संख्या बढ्दो छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीका अनुसार दसैं–तिहारपछि त धारापानी वनभोज र घुमघामको मुख्य केन्द्र जस्तै बन्न थालेको छ। अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेको समितिको अनुमान छ।
धारापानीलाई धेरै कुराले विशिष्ट बनाएका छन्। विश्वकै अग्लो भनिएको पञ्चधातुको त्रिशूलदेखि लिएर १०८ शिवलिंग, १०८ बर–पिपलका जोडी, १०८ समीका वृक्ष र १०८ पानीका धाराले धार्मिक वातावरण सशक्त बनाएका छन्। ॐ कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी–देवताका मन्दिरहरूले यस स्थानलाई आध्यात्मिक शान्ति खोज्नेहरूका लागि विशेष बनाएको छ। वरिपरिका हरियाली वनजंगल र नजिकै बग्ने सरयू–गंगा बबई नदीले घुम्न आउनेलाई स्वाभाविक तान्ने वातावरण सिर्जना गर्छ।
धारापानीलाई धार्मिक ग्रामका रूपमा विकास गर्ने लक्ष्यसहित हाल मन्दिर व्यवस्थापन समिति सक्रिय छ। परिसरमा दुई व्यवस्थित खाजाघर, पूजा सामग्रीका पसलहरू, एउटा कोसेलीघर र एउटा सांस्कृतिक भेषभूषा घर सञ्चालनमा छन्। घोराही उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएको कोसेली घरमा दाङमै उत्पादन हुने परम्परागत सामग्रीलाई प्राथमिकता दिने गरिएको छ। माटोका भाँडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की, सिमठारो चामलजस्ता स्थानीय उत्पादनले दाङको पहिचान झनै स्पष्ट रूपमा बाहिर लैजाने प्रयास गरिएको सचिव विष्णुराम आचार्य बताउँछन्।
यी सबै कारणले धारापानी दाङको धार्मिक तथा मनोरञ्जन पर्यटनको केन्द्रबिन्दु बन्दै गएको छ। स्थानीयको भनाइमा, ‘‘दाङ आउने अधिकांश मानिस अब धारापानी नपुगी फर्किँदैनन्।’’ सौन्दर्य, आस्था र संस्कृतिको त्रिवेणी बनेको धारापानी दाङ पर्यटनको नयाँ परिचयका रूपमा उदाउँदै छ।