Butwal Today

नेपाल प्रहरीले २६२ गाडी खरिद गर्ने, सरकारले दियो ८० करोड

७ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाल प्रहरीले २६२ वटा सवारीसाधन खरिद गर्ने भएको छ । नियमित बजेटबाट १५६ वटा र थप बजेटबाट १०६ वटा गाडी खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

१५६ वटा सवारीसाधनको लागि ३५ करोड ११ लाख र थप १०६ वटा सवारीसाधन खरिदका लागि ४५ करोड ३० लाख रुपैयाँ अर्थमन्त्रालयबाट स्रोत अनुमति प्राप्त भइसकेको छ ।

यसरी यस आर्थिक वर्षमा नेपाल प्रहरीले ८० करोड ४१ लाख रुपैयाँका विभिन्न सवारीसाधन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

नियमित बजेटबाट खरिद गर्न लागिएका १५६ वटा सवारीसाधनमा ७५ वटा पिकअप भ्यान, १ वटा थुनुवा ओसारपसार गर्ने सवारी, २८ वटा कार्यालय प्रयोजनका सवारी, ४१ वटा विद्युतीय कार्यालय सवारी र १० वटा एस्कर्ट पिकअप भ्यान रहेका छन् ।

यस्तै, गृह मन्त्रालयका लागि ५९ वटा सवारीसाधन खरिदका लागि अर्थ मन्त्रालयबाट स्रोत अनुमति प्राप्त भइसकेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

जसमध्ये ३ वटा विपद् उद्धारका लागि, ५० वटा बोलेरो पिकअप भ्यान, ३ वटा दङ्गा नियन्त्रण ट्रक र २ वटा एम्बुलेन्स खरिद गरिनेछ ।

यसका लागि नियमित बजेटबाट २१ करोड ६ लाख रुपैयाँ खर्च हुने छ भने थप ५० वटा सवारीसाधन यो आर्थिक वर्षभित्र खरिद गर्ने गरी ५ करोड ६ लाख रुपैयाँ सशस्त्र प्रहरीलाई उपलब्ध गराइनेछ ।

यता, राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा सवारीसाधन खरिद गर्न २ करोड ८० लाख रुपैयाँ स्रोत अनुमति प्राप्त भएको छ ।

तीनै सुरक्षा निकायका लागि चुनावअगाडि नै सवारीसाधन खरिद भइसकेको गृहमन्त्रालयले दाबी गरेको छ । जेनजी आन्दोलनमा नेपाल प्रहरीका ५७१ वटा र सशस्त्र प्रहरीका ६१ वटा सवारीसाधनमा क्षति पुगेको थियो ।

राष्ट्रिय अनुसन्धान विभागका ११ वटा चार पाङ्ग्रे र ३० वटा मोटरसाइकलमा क्षति पुगेको थियो । जेनजी प्रदर्शनमा ध्वस्त भएका ४४९ वटा प्रहरी कार्यालय सञ्चालनमा आएका छन् । प्रहरीका ४६५ वटा कार्यालयमा क्षति पुगेको थियो, जसमा १६ वटा कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् ।

सशस्त्र प्रहरी बल, नेपालका ८४ वटा कार्यालयमा क्षति पुगेको थियो । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गतका २ वटा भवन तथा ३ वटा जिल्लास्थित कार्यालय भवनमा पनि क्षति पुगेको थियो ।