© २०२३
चितवन ।
नेपालमा अण्डाको मूल्य आजदेखि लागू हुनेगरी भारी रूपमा वृद्धि भएको छ । किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य सार्वजनिक गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले जारी गरेको नयाँ मूल्यसूचीमा उल्लेखनीय वृद्धि गरिएको हो ।
यसअनुसार अति ठूलो (एक्सएल) अण्डाको प्रतिक्रेट (३० वटा) मूल्य रु ५२०, ठूलो अण्डा रु ५०५ र मिडियम अण्डा रु ४९० कायम गरिएको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको तुलनामा प्रत्येक क्रेटमा रु ५५ ले मूल्य बढेको हो । उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न नपाएपछि नेपाली अण्डाले आफ्नै उत्पादन लागतअनुसार बजार मूल्य पाउन थालेको हो । भारतमा जारी निर्वाचनका कारण सीमामा कडाइ भएको र त्यहाँको आन्तरिक खपत बढेपछि अवैध रूपमा नेपालतर्फ अण्डा ढुवानी हुन सकेको छैन ।
सङ्घका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा भारतीय रु ७.८० मा बिक्री भइरहेको छ । भारतमै राम्रो मूल्य पाइएकाले अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत रोकिएको उनले बताए । कँडेलका भनाइमा, “नेपालमा भारतीय अवैध अण्डा नभित्रिँदा किसानले लागत मूल्य पाउने स्थिति बनेको छ ।” नेपालमा अण्डाको प्रतिगोटा लागत मूल्य रु १६.५७ पर्ने गरेको छ, र अहिलेको दररेटमा किसानले लागत बराबर रकम पाउन थालेका छन् ।
नेपालमा अण्डाको बजार व्यवस्थापनमा संलग्न सङ्घका अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत स्वाभाविक रूपमा बढ्ने बताए । उनका अनुसार चिसोबाट जोगिन अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले मागमा वृद्धि भएको हो । तीन महिनाअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य रु ५३० पुगेको थियो, तर क्रमशः घट्दै रु ४०० सम्म झरेको थियो ।
अहिले मूल्य फेरि बढ्दै गएर किसानले लागत बराबर मूल्य पाउने अवस्थामा पुगेका छन्, जसले किसान लाभान्वित हुने सङ्घको भनाइ छ । हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अण्डा उत्पादन हुने अनुमान गरिएको छ ।