© २०२३
काठमान्डौ, ७ मंसिर ।
आगामी निर्वाचनअघि नियमित महाधिवेशन गर्नुपर्ने मागलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् । आइतबार बिहान कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा पुगेर उनीहरूले नियमित महाधिवेशनका पक्षमा थप सक्रियता देखाउन आग्रह गरेका हुन् ।
कोइरालालाई भेट्न पुगेका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाका अनुसार सो भेटको मुख्य उद्देश्य महाधिवेशनको मागमा दवाब बढाउने हो । शेर्पाले भने, “साथीहरूले शेखरजीको क्रियाशीलता केही कम भएको भान पाएको भन्दै नियमित महाधिवेशनबारे अझ बलियो रूपमा नेतृत्वबाट आवाज उठ्नुपर्ने आवश्यकता राखे ।”
उनका अनुसार केन्द्रीय सदस्यहरूको जिज्ञासामा नेता कोइरालाले आफू नियमित महाधिवेशनका पक्षमा अडिग रहेको र त्यसका लागि थप सक्रिय भूमिका खेल्ने आश्वासन दिएका छन् ।
कोइरालाले आवश्यकता परे विशेष महाधिवेशन बोलाउन पनि केन्द्रीय समितिबाट निर्णय गराउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेको शेर्पाले बताए । शेर्पाका शब्दमा, “कोइराला जीले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउनुभयो । यदि विशेष महाधिवेशनको अवस्था आयो भने केन्द्रीय समितिको निर्णयमार्फत आह्वान गर्नु नै उपयुक्त हुन्छ भन्नुभएको छ ।”
शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका विषयमा निर्णय नलिएकोप्रति असन्तुष्टि जनाउँदै कोइरालाले त्यसको कारणबारे आफू अनभिज्ञ रहेको पनि बताए ।
आइतबारको भेटमा सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेसहित नेता डा. मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा. गोविन्द पोखरेल, रामकृष्ण यादवलगायत सहभागी थिए । दुई महामन्त्री परियार र पाण्डेले भने पार्टीका महत्वपूर्ण निर्णय प्रक्रियाबारे आफूहरूलाई पर्याप्त जानकारी नदिइने गरेको गुनासो राखेको शेर्पाले जानकारी दिए ।
देउवा पक्षका २७ केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने मागसहित विभिन्न नेतासँग निरन्तर भेटघाट गर्दै आएका छन् । उनीहरू यसअघि सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरिसकेका छन् ।
विशेष महाधिवेशन माग गर्ने नेताहरूसँग सोमबार भेट्ने तयारी भइरहेको बताउँदै शेर्पाले भने, “हामी समन्वयकारी भूमिकामा रहेर एक ठोस निष्कर्ष निकाल्ने प्रयासमा छौँ ।”