© २०२३
काभ्रेपलाञ्चोक , ७ मंसिर ।
पटक–पटकको बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको स्थायी पुनर्निर्माण कार्य सुरु गरिएको छ ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा रहेको यस राजमार्गको क्षतिग्रस्त सडकखण्डका तीन स्थानमा स्थायी पुनर्निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
गत साल असोज दोस्रो साता र यस वर्षको असोज तेस्रो साताको अविरल वर्षा तथा बाढीपहिराले काभ्रेपलाञ्चोक र सिन्धुली खण्डअन्तर्गत करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो ।
बाढीपहिराले सडकका विभिन्न भाग बगाएपछि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको उक्त राजमार्गको स्थायी निर्माण अब औपचारिक रूपमा अघि बढाइएको कार्यालयले बताएको छ ।
क्षतिग्रस्त तीन खण्डको स्थायी पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढिरहेको डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा, मङ्गलटार, नार्के–गिम्दी क्षेत्रलगायत स्थानबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो ।
ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुनर्निर्माणसाथै राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशले बताए ।
‘पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ । यहाँ रहेका पुलसँगै थप पुल निर्माण गरी पुलहरूलाई समेत दुई लेनको बनाइनेछ,’ उनले भने । उनका अनुसार पाँच पुललाई दुई लेनमा विस्तार गर्ने सम्भाव्य अध्ययन भइरहेको छ ।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँ (भ्याटसहित) मा ठेक्का पाएको छ ।
त्यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्म ११.०८ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको छ ।
नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किमी सडक पुनर्निर्माणका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ६१ करोड रुपैयाँ (भ्याटसहित) को ठेक्का सम्झौता भएको छ ।
क्षतिग्रस्त कूल २९.५ किमीमध्ये बर्खेखोला–पिप्ले खण्ड (३.२ किमी) भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्नेछ । यसका लागि दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको इञ्जिनियर योगेशले बताए ।
जाइकाले निर्माण गर्ने खण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का प्रक्रिया सम्पन्न गरिसकेको छ ।
कार्यालयका अनुसार पुनर्निर्माणका सबै काम दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ‘निर्धारित समयमै काम सक्ने लक्ष्यसहित मङ्सिरको सुरुवातदेखि नै स्थायी पुनर्निर्माण सुरु गरिएको हो,’ योगेशले भने ।
क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिसकेको छ । जसमा काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुली खण्डका लागि एक अर्ब रुपैयाँको स्रोत व्यवस्था छ ।
बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी) को निर्माण आर्थिक वर्ष २०५३/५४ मा जापान सरकारको अनुदान सहयोगमा सुरु भएको थियो ।
विभिन्न चरणमा निर्माण सम्पन्न भएको यो राजमार्ग २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
उक्त राजमार्गलाई काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा लिइन्छ ।