© २०२३
काठमान्डौ, ७ मंसिर ।
काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिकै सडक किनारमा फेला परेको शव तेस्रो लिंगी समुदायको रहेको खुलेको छ । शनिबार दिउँसो भेटिएको उक्त शवको पहचान भने अहिलेसम्म पुष्टि हुन सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शवको सनाखत नहुदाँ अनुसन्धानमा थप जटिलता आएको छ । शव भेटियो भन्ने सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थल मुचुल्का गर्ने क्रममा शव तन्नाले बेरिएको अवस्थामा पोको परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति संदेहास्पद देखिएपछि प्रहरीले यसलाई सम्भावित हत्या मान्दै अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार शवलाई हतियार प्रयोग गरी काटिएको वा टुक्रा पारिएको अवस्था भने थिएन । शव पूर्णरूपमै भेटिएको हो ।
उक्त शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । तर, सनाखत नभएकै कारण अहिलेसम्म मृतकको पहिचान खुल्न सकेको छैन ।