© २०२३
नेपालगञ्ज, ६ मंसिर ।
बाँके राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा पाटे बाघसहितका वन्यजन्तु सहजै देखिन थालेपछि यहाँको जंगल सफारी प्रमुख पर्यटन आकर्षणका रूपमा उभिएको छ। नियमित रूपमा बाघ, हात्ती, भालु, निलगाई, जरायोजस्ता जनावर देखिने भएपछि पर्यटन व्यवसायीहरू उत्साहित छन्, भने बाह्य तथा स्वदेशी पर्यटकको चहलपहल पनि तीव्र गतिमा बढिरहेको छ।
नेपाल पर्यटन बोर्डको आयोजनामा र नाटा बाँके च्याप्टरको समन्वयमा शुक्रबार नेपाल र भारतका पत्रकारहरूलाई विशेष सफारी गराइएको थियो। झन्डै दुई दर्जन पत्रकारले निकुञ्जको विविधता, वन्यजन्तु अवलोकनको सहजता तथा पर्यटन सम्भावनाको प्रत्यक्ष अनुभव लिए। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलियाका अनुसार भारतीय बजार बाँके पर्यटन विस्तारका लागि अत्यन्त सम्भावनायुक्त रहेको भएकाले यसपटक भारतीय पत्रकारलाई विशेष प्राथमिकताका साथ सहभागी गराइएको हो।
उनका अनुसार बाँके राष्ट्रिय निकुञ्ज कर्णाली प्रदेश, बर्दिया राष्ट्रिय निकुञ्ज र लुम्बिनी क्षेत्रसँग जोडिएको हुँदा यसको भौगोलिक पहुँच नै पर्यटन विकासका लागि ठूलो अवसर हो। नेपालगञ्जका ठूला होटल, क्यासिनो तथा निजी क्षेत्रको सक्रियताले निकुञ्ज–केन्द्रित पर्यटनलाई अझ बलियो बनाइरहेको उनले बताए।
सन् २०१० मा ५५० वर्ग किलोमिटर क्षेत्रफलमा स्थापनागत बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनामा २१ वटा पाटे बाघ भेटिएका थिए। निकुञ्जका अधिकारीका अनुसार संरक्षण प्रयास प्रभावकारी बन्दै गएपछि बाघको संख्या हाल अझ बढिरहेको छ। आहार प्रजातिका जनावर वृद्धि हुँदै गएपछि जङ्गल सफारीको अनुभव ‘भाग्यमानी’ होइन—‘नियमित’ बन्दै गएको छ।
चालु आर्थिक वर्षमा मात्रै २४४ नेपाली र ६ जना विदेशी गरी २५० बढी पर्यटक निकुञ्ज प्रवेश गरिसकेका छन्। दैनिकजसो बाघ, हात्ती, भालु, चौका र अन्य वन्यजन्तु हेर्न आउने यात्रुको भीड बढिरहेकाले बाँके पर्यटन पुनः उठान हुँदैछ भन्ने संकेत स्पष्ट छ।
नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भिमबहादुर डाँगीका अनुसार पर्यटकको चासो बढेपछि पेशेवर गाइडको माग पनि निरन्तर बढिरहेको छ। “छोटो मार्गमै विदेशी पर्यटकलाई बाघ देखाउन सकिनु नै निकुञ्जको क्षमताको प्रमाण हो,” उनले भने। फ्रान्स, जर्मनीलगायतका पर्यटकहरू मचानमा रात बस्ने, जंगल पैदल यात्रा गर्ने तथा लामो सफारीमा सहभागी हुने रुचि बढिरहेको उनले बताए।
भारतका वाइल्ड–लाइफ फोटोग्राफर विक्रम तिवारीले निकुञ्ज प्रवेश गरेको १० मिनेटमै पाटे बाघ भेटिएको अनुभव साझा गर्दै यहाँको पर्यटन क्षमतालाई ‘वर्ल्ड–क्लास’ भन्दै प्रशंसा गरे।
निकुञ्जभित्र २०० किलोमिटर वन–पथ, घाँसेमैदान, मचान र पानी पोखरीजस्ता पूर्वाधार विस्तारसँगै निजी क्षेत्र पनि तीव्र सक्रिय बन्दै गएको छ। गाभर भ्याली क्षेत्रमा रहेका होमस्टेहरूले नियमित रूपमा पाहुनालाई सफारी सेवा प्रदान गर्दै आएका छन्। दिप्शन टुर एण्ड ट्राभल्सका सञ्चालक भागीराम ओलीका अनुसार अहिले दुईवटा सफारी गाडी सञ्चालनमा रहेका छन् भने यात्रुको माग बढेसँगै थप दुई गाडी छिट्टै सञ्चालनमा ल्याइनेछ।
नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तिलक गाउँलेका अनुसार निकुञ्जभित्र पूर्वाधार विस्तार र वन्यजन्तुको चहलपहल बढेसँगै बाँकेको पर्यटन सम्भावना फेरि जागिरहेको छ। भारतका पत्रकार प्युस राईले भारतका सीमावर्ती शहरहरू नजिकै रहेको कारण बाँके राष्ट्रिय निकुञ्ज भारतीय पर्यटककै लागि आकर्षक गन्तव्य बन्न सक्ने बताए।
बढ्दो वन्यजन्तु, विकसित पूर्वाधार र निजी क्षेत्रको सक्रियतासँगै बाँके राष्ट्रिय निकुञ्ज अब नेपालका प्रमुख सफारी गन्तव्यहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा अघि बढ्दै गएको स्पष्ट देखिन थालेको छ।