© २०२३
काठमान्डौ, ६ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसम्बन्धी विवादित अडियो (क्यासेट) प्रकरणबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीको अडियो सार्वजनिक भएपछिको मौनताप्रति आक्रोश व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले भने, “कस्तो–कस्तो मान्छे विगतमा प्रधानन्यायाधीश र अहिले प्रधानमन्त्री बनेछन् भन्ने सुन्दा आश्चर्य लाग्छ ।” उनले दुर्गा प्रसाईंले सार्वजनिक गरेको भनिएको अडियोबारे सरकार जनतालाई सत्यतथ्य खुला गर्न बाध्य छ भन्दै त्यसबारे प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा स्पष्टीकरण दिनुपर्नेमा जोड दिए ।
उनका अनुसार जेनजी आन्दोलनकै समयमा हेलिकोप्टर उडिरहेको देखिएको र त्यही बेला सार्वजनिक अडियोमा प्रधानमन्त्री कार्कीको कहलिएको गैरजिम्मेवार अभिव्यक्ति सुनिनु गम्भीर विषय हो । ओलीले भने, “सेनाले नेताहरूलाई बचायो भनेर किन बचाउने भन्ने आवाज त्यो अडियोमा सुन्छौँ । त्यो पूर्वप्रधानन्यायाधीश तथा अहिलेको असंवैधानिक प्रधानमन्त्रीको आवाज हो कि होइन—यसको स्पष्टोक्ति सरकार स्वयंले दिनुपर्छ ।”
दुर्गा प्रसाईंलाई सो अडियो बाहिर ल्याएको कारण पक्राउ गरिएको जिकिर गर्दै उनले भने, “मानिसलाई गिरफ्तार गरेर समस्या समाधान हुँदैन। क्यासेटको सत्यतथ्य छिनोफानो हुनु आवश्यक छ ।”
अध्यक्ष ओलीले सरकारलाई शीघ्र छानबिन गरी सम्पूर्ण तथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।