© २०२३
सल्यान, ०६ मङ्सिर ।
राष्ट्रिय परिचयपत्र मार्फत अनलाइन मतदाता नामावली दर्ताको व्यवस्थाले गर्दा सल्यानमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढेको छ ।
गत असोजदेखि सुरु भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अन्तर्गत दुई महिनाको अवधिमा भन्दा अनलाइन मार्फत केही दिनमै नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या बढी देखिएको हो ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार सल्यानमा शुक्रवार दिउँसो ४ः३० सम्म तीन हजार एक सय बढी नयाँ मतदाताले नामावलीमा नाम दर्ता गराएका छन् ।
दुई महिनाको अवधिमा कार्यालयमा आएर एक हजार ४३८ जनाले नाम समावेश गरेकोमा डिजिटल सुविधाको उपयोग गर्दै राष्ट्रिय परिचयपत्र मार्फत एक हजार ६६३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले जानकारी दिए ।
जिल्लामा नयाँ मतदाताको सङ्ख्या करिब चार हजार पुग्ने कार्यालयको अनुमान छ । अनलाइन मार्फत आएका नामावली रुजु कार्य भइरहेको पनि भण्डारीले बताए । अनलाइन प्रणालीले यात्राको झन्झट र समयको बचत गरेको छ ।
विशेष गरी युवा र महिलाहरूले यो सुविधाको फाइदा उठाएका छन् । सल्यानमा निर्वाचनका लागि ११७ मतदान स्थल र २०२ मतदान केन्द्र निर्धारण गरिएको छ । यस पटक कुनै नयाँ स्थल नथपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यद्यपि जिल्लाको तीन स्थानको मतदान स्थल सार्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले बताए । उनले भने, “केही वडाहरूबाट मतदान केन्द्र थपका लागि सिफारिस भएर आएपनी धेरै विषय हेर्नुपर्ने भएको र मापदण्ड अनुसार नआएकाले त्यसलाई रेकर्डमा राखेका छौँ ।
आगामी दिनमा थप अध्ययन गरेर निर्णय गरी पठाउँछौ ।’ कार्यालयका अनुसार गत असोज अघि जिल्लामा एक लाख ६५ हजार ६७ जना मतदाता रहेका थिए । यस्तै गत प्रतिनिधिसभा निर्वाचनमा सल्यानमा स्थायी मतदाता एक लाख ५७ हजार ७०१ जना र अस्थायी मतदाता दुई हजार ६६१ जना रहेका थिए ।
जसमा एक हजार दुई सय ६५ जना अस्थायी मतदाता र ८३ हजार ४७ जना स्थायी मतदाता गरेर जम्मा ८४ हजार तीन सय १२ जनाले मत खसेको थियो ।
सल्यानमा राजनीतिक दलहरूले अभियानकै रूपमा वा सार्वजनिक आह्वान गरेर मतदाता नामावली सङ्कलनमा सक्रियता भने देखाएनन्। ‘त्यति धेरै चासो पनि भएन । असहयोग पनि भएन, मौन समर्थन रह्यो । स्थानीय तहको चुनावको बेला अलि दलहरूको चासो देखिन्छ ।
यतिखेर त्यस्तो देखिएन’, जिल्ला निर्वाचन अधिकारी भण्डारीले भने ।