Butwal Today

पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प हो : गगन थापा

६ मंसिर २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, ६ मंसिर ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विशेष महाधिवेशन अब अनिवार्य अवस्थामा पुगेको बताएका छन् । केन्द्रीय समितिको बैठक सकिएलगत्तै पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै थापाले नियमित महाधिवेशन सम्भव नभएको परिस्थितिमा विशेष महाधिवेशन नै व्यावहारिक विकल्प भएको स्पष्ट पारे ।

उनका अनुसार आफूले केन्द्रीय समितिको बैठकमा नियमित महाधिवेशनका लागि समयसूचीसहितको प्रस्ताव पेश गरे पनि नेताहरूले त्यो सम्भव नहुने बताएका थिए । “जब नियमित महाधिवेशन गर्न सकिँदैन भनिन्छ, तब विशेष महाधिवेशन बाहेक अब अर्को विकल्प रहँदैन,” थापाले टिप्पणी गरे ।

महामन्त्री थापाले आगामी निर्वाचनमा जाने पार्टीको निर्णयलाई विशेष महाधिवेशनसँग जोड्दै थपे, “चुनावमा जाने कुरा पक्कै भयो । अब सबैभन्दा उपयुक्त दिन कुन हो भने, जुन दिन विशेष महाधिवेशन गर्न अनुकूल हुन्छ—त्यही दिन महाधिवेशन गर्नुपर्छ ।”

यसअघि पनि केन्द्रीय समितिमा बोल्दै थापाले नेताहरू नियमित महाधिवेशनका लागि तयार नहुने हो भने मंसिर २७ गते विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले भने, “पुस मसान्तभित्र आवधिक निर्वाचन पनि गर्दिन र विशेष महाधिवेशन पनि गर्दिन भन्न मिल्दैन । यस्तो निर्णय लिने अधिकार केन्द्रीय समितिसँग छैन ।”

थापाले पार्टी विधानमा विशेष महाधिवेशन गर्ने स्पष्ट व्यवस्था रहेको भन्दै केन्द्रीय समिति त्यसबाट बाहिर जान नसक्ने बताए । उनका शब्दमा, “कसैले कार्यतालिका खोजेको होइन, महाधिवेशन खोजेको हो । अब हामीसँग दुई विकल्प मात्र छन्—पुस मसान्तभित्र नियमित महाधिवेशन गर्ने वा त्यसअघि वा त्यसै अवधिमा विशेष महाधिवेशन गर्ने ।”