© २०२३
अर्घाखाँची, ०६ मङ्सिर ।
सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको छैटौँ अधिवेशनमा चार दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
काँग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका अध्यक्षका साझा उम्मेदवार युवराज खत्रीलाई पराजय गरी स्वतन्त्र नागरिक समाजका नाममा उम्मेदवार भएका बाबुराम भुसाल विजयी भएका हुन् ।
भुसालले ५ सय ६३ र खत्रीले ४ सय ४३ मत ल्याए । भुसालले खत्रीलाई १ सय २० मतले पराजित गरेका हुन् । १ हजार ७ सय ३१ उपभोक्तामध्ये बुधबार भएको मतदानमा १ हजार ६८ मत खसेको थियो । भदौ २४ को जेन–जी प्रदर्शनपछि भुसालले काँग्रेस सन्धिखर्क नगर सभापति पदसहित पार्टी परित्याग गरेर स्वतन्त्र बनेका थिए ।
उनले जिल्लाको काँग्रेस नेतृत्वप्रति असन्तुष्ट जनाउँदै पार्टी छाडेका थिए । ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिका सबै पदमा भागबन्डा गरेर चुनावमा उत्रिएका थिए ।
सन्धिखर्क नगर स्तरीय चार दलका नेताले विज्ञप्ति निकालेर खत्री नेतृत्वको टिमलाई जिताउन उर्दी जारी गरे पनि अध्यक्षमा भुसाल विजयी भएका हुन् । भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी, जेन–जी समूह र स्वतन्त्र व्यक्तिहरूले समर्थन गरेका थिए ।
चार दलको घेराबन्दीका बिच मतदाताले स्वतन्त्र पूर्वक मत दिएर जिताएकोमा आभार तथा धन्यवाद ज्ञापन गर्दै भुसालले खाने पानीका हरेक समस्यालाई समाधान गर्ने काममा उपभोक्ताको मर्म र भावना अनुसार अगाडी बढ्ने बताए । भुसाल समूहबाट वरिष्ठ उपाध्यक्षमा वेदराज घिमिरे, कोषाध्यक्षमा सरिता महत क्षेत्री विजयी भए ।
जेन–जी आन्दोलनपछि घिमिरेले एमाले र क्षेत्रीले काँग्रेस परित्याग गरेका थिए । उपाध्यक्षमा गठबन्धनबाट भेषबहादुर क्षेत्री, सचिव जीवलाल पौडेल र सहसचिवमा कल्पना पोखरेल विजयी भए ।
सदस्यहरूमा गठबन्धनकै उम्मेदवार नवीन सुनार, मोतिलाल खनाल, कमला अर्याल विजयी भए । लेखा समिति संयोजकमा गठबन्धनकै सुनिता बेल्वासे विजयी भइन् । संस्थाबाट सदरमुकामको सन्धिखर्क, चुत्रावेशी लगायतका ठाउँमा पिउने पानी वितरण हुँदै आएको छ ।