© २०२३
नेपालगञ्ज, ६ मंसिर ।
११ औँ धारा नेपालगञ्ज म्याराथनको प्रतिष्ठित उपाधि यस वर्ष पनि नेपाली सेनाका खडकबहादुर खड्काले हात पारेका छन् । शनिबार बिहान नेपालगञ्जमा आयोजित म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै उनले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भए । यस असघ आठौं संस्करणमा पनि खड्का च्याम्पियन भएका थिए । उपाधिसँगै उनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
उनीपछि २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै नेपाल आर्मीकै सुशीलकुमार शाही द्वितीय बने भने सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । दोस्रो र तेस्रो भएका शाही र पार्कीले क्रमशः १ लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै, महिला हाफ–म्याराथनतर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने विजेता बनिन् । पाँचौँ संस्करणमै उपाधि जितेकी उनले यो वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान सुरक्षित गरिन् । उपाधिसँगै उनले ७५ हजार रुपैयाँ पुरस्कार हात पारिन् । सशस्त्र प्रहरीकी फूलमती राना दोस्रो र आश्मा विश्वकर्मा तेस्रो भइन् ।
म्याराथनको शुभारम्भ तथा समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक घिसिङ, नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल, मिस नेपाल लुना लइँटेल, नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी, मुख्य प्रायोजक केएल दुग्ध समूहका सिइओ प्रदिप छाछेडलगायतको उपस्थिति थियो ।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार म्याराथन, हाफ–म्याराथन तथा विभिन्न विधाका शीर्ष खेलाडीलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । साथै, शीर्ष १० भित्र पर्ने तथा दौड पूरा गर्ने सबैलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको गुरुङले जानकारी दिए ।
