© २०२३
चन्द्रौटा, ०५ मङ्सिर ।
कपिलवस्तुको खरेन्द्रपुर–सितलापुर–भिल्मी सडक खण्डमा अहिले निर्माण कार्य करिब करिब सकिएको छ । स्थानीय बासिन्दाले वर्षौँदेखि दुर्गम यात्राको पीडा बोक्दै आएका यो मार्ग अब सहज आवतजावतको आधार बन्न सक्ने अपेक्षा छ ।
सरकारले सडकमा सहज रूपमा आवतजावत गर्न निर्माण गरिएको भए पनि स्थानीयले घरायसी बस्तु राख्ने थलोको रूपमा प्रयोग गर्दै आएका छन् । उनीहरूले सडक छेउमा धान सुकाउने, दाउने, टेक्याटरको फाली राख्ने, काठ दाउरा राख्ने, गाईबस्तु बाँध्ने र पराल राख्ने जस्ता कार्यको रूपमा प्रयोग गरेको पाइएको छ ।
सडक पूरा नहुँदै यसको वास्तविक प्रयोगमा चुनौती देखिन थालेको छ । सडकको किनार घरायसी गतिविधिको केन्द्र बनेको छ । राजमार्ग वा ग्रामीण सडकका किनारमा कृषिजन्य कामका दृश्यहरू देखिनु असामान्य होइन । तर यहाँको अवस्था फरक छ ।
सडक नजिकै धान सुकाइने, दाइने, पराल थुपार्ने, ट्र्याक्टरका फाली राख्ने, काठ दाउरा जमाउने र गाईबस्तु बाँध्ने दृश्यले यो सडकलाई ‘समुदायको खुला आँगन’ बनाइदिएको छ ।
यी गतिविधिले एकातिर ग्रामीण जीवनशैली र परम्परागत काम गर्ने प्रवृत्तिलाई झल्काउँछन्, अर्कोतिर करोडौँ खर्चेर बनेको यातायात पूर्वाधारको उद्देश्य नै कमजोर बनाइदिन्छन् ।
स्थानीयले प्रयोग गरेपछि सवारी आवतजावतमा समस्या हुने गरेको सवारी चालक भूपेन्द्र चौधरीले बताउँछन् । सरकारले करोडौँ लगानी गरेर सडक बनायो तर ग्रामीण भेग नागरिकहरूले सडक छेउमा धान सुकाउने, दाउने र पराल राख्ने जस्ता कार्यले निकै समस्या भएको उनले बताए ।
सवारी चालक भूपेन्द्र चौधरी दैनिकै यस सडकमा गुड्छन् । स्थानीयका घरायसी गतिविधिबाट सवारी आवतजावतमा बारम्बार समस्या पर्ने उनी बताउँछन् ।
“सडक त सरकारले सबैका सुविधा र विकासका लागि बनाएको हो । तर बिचैमा धान सुकाइदिँदा, पराल थुपार्दै गर्दा वा गाई बाँधेर राख्दा सवारी चलाउनै गाह्रो हुन्छ” उनले भने ।
ग्रामीण भेगमा करोडौँको लागतमा सडक बन्नु आफैँमा ठुलो उपलब्धि हो । तर ग्रामीण भेगमा यस्तो पूर्वाधार निर्माण भएपछि व्यवहारगत परिवर्तन आवश्यक हुन्छ । स्थानीय बासिन्दाको परम्परागत क्रियाकलाप अझै पनि सडककै छेउमा केन्द्रित रहन्छ । किनकि उनीहरूसँग वैकल्पिक स्थान छैन वा सडकलाई सरसफाइ र संरचनाको हिसाबले महत्त्व दिन सिकेका छैनन् ।
बदलियो गाउँ, बदलिएन बानी
सडकले सुविधा ल्याउँछ, विकासका सम्भावना बढाउँछ, समय र दूरी घटाउँछ । तर बानी र व्यवहार परिवर्तन नभएसम्म कुनै पनि पूर्वाधारले आफ्नो प्रभावकारी भूमिका निभाउन सक्दैन । खरेन्द्रपुर–सितलापुर–भिल्मी सडक अहिले संरचनागत रूपमा तयार हुँदै छ । नाली लगायत केही संरचना निर्माण गर्न केही मात्रै बाँकी रहेको छ । अब आवश्यक छ–स्थानीयको चेतना, सामुदायिक सहजीकरण, र नगरपालिका–गाउँपालिका स्तरको निगरानी गर्न आवश्यक छ ।
शिवराज नगरपालिका वडा नम्बर–३, खरेन्द्रपुर चोकदेखि महाराजगन्ज, तौलिहवा, लुम्बिनी, हुलाकी रोड, भारतको कोटिया लगायतको स्थानमा जोडने सडक बिचमा अलपत्र बनेपछि स्थानीयसँगै यात्रुलाई सास्ती सडक निर्माण सकिएपछि सहज भएको पूर्व मन्त्री ईश्वर दयाल (विरेन्द्र) मिश्रले बताए । ७७ करोड ४८ लाखसम्मको लागतमा निर्माण भएको सडकको लम्बाई १८.८२० किलोमिटर रहेको हुलाकी राजमार्ग योजना कार्यालय गोरुसिङ्गे कपिलवस्तुले जनाएको छ ।