© २०२३
काठमान्डौ, ५ मंसिर ।
नेकपा एमाले समर्थित युवाहरू ‘नेशनल भोलिन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्ने तयारीसँगै शुक्रबार नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि ठूलो संख्यामा जुटेका छन् । सहभागीमध्ये धेरै पैदल आएका छन् भने केही मोटरसाइकलमा सवार रहेका देखिन्छन् ।
एमालेले आज माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलस्थित कार्की बैंक्वेटमा औपचारिक रूपमा भोलिन्टियर फोर्स घोषणा गर्ने कार्यक्रम निर्धारित गरेको छ । तर माइतीघर क्षेत्रमा यसअघि नै जेन–जी आन्दोलनका घाइतेहरू सडकधर्ना बसेकाले त्यहाँको वातावरण थप तनावपूर्ण बनेको छ ।
जेन–जी आन्दोलनकै प्रभावले सत्ता परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेपछि नेकपा एमाले र जेन–जी युवाबीच पछिल्ला दिनमा अभिव्यक्तिमूलक आक्रामकता बढेको छ । दुवै पक्षका गतिविधि तीव्र भएको कारण सुरक्षाको संवेदनशीलता बढेपछि माइतीघर–नयाँ बानेश्वर क्षेत्र अत्यधिक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
धर्नामा बसेका जेन–जी घाइतेहरूले आफूहरूको न्यायका लागि संघर्ष जारी रहेको बताएका छन् । उनीहरूले ‘नेपाल आमालाई न्याय खै ?’, ‘छानबिन आयोग कहाँ गयो ?’, ‘भ्रष्टाचारीलाई कारबाही खै ?’, ‘जेन–जीका माग पूरा भएको खै ?’ लेखिएका प्लाइकार्ड प्रदर्शन गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।