© २०२३
काठमान्डौ, ५ मंसिर ।
बाराको सिमरामा बुधबारदेखि प्रदर्शन गरिरहेका जेनजी युवासँग औपचारिक वार्ता आवश्यक नरहेको निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रदर्शनकारीलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो । तर बाराका प्रशासनिक अधिकारीहरूले आवश्यक कार्यहरू अघि बढाइरहेकाले यसबेला औपचारिक छलफल गर्नु अनिवार्य नरहेको बताएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत पक्षका मुख्य मागहरू पूरा भइसकेको भन्दै अब औपचारिक वार्ताको आवश्यकता नरहेको स्पष्ट पारे । उनले भने, “छलफलका लागि जिल्ला प्रशासनको ढोका सधैं सबैका लागि खुला छ ।”
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले पनि औपचारिक वार्ता गर्नुपर्ने कुनै नयाँ माग नरहेको बताए । उनले भने, “हामीले आफ्नो काम गरिरहेका छौं । जाहेरी परेका व्यक्तिहरू पक्राउ भइसकेका छन्। यसबेला वार्ताका लागि कुनै अतिरिक्त माग छैन ।”
यसअघि, बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि दुई दिनदेखि बारा जिल्लामा अशान्ति व्याप्त थियो । कर्फ्यू आदेशको अवज्ञा गर्दै जेनजी युवाहरूले बुधबार र बिहीबार दिनभर वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।