© २०२३
काठमान्डौ, ५ मंसिर ।
नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचनको अघिल्लो दिन र पछिल्लो दिन समेत सार्वजनिक बिदा व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ ।
प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राध्यापक डा। लेखनाथ शर्मा नेतृत्वको अध्ययन प्रतिवेदनले निर्वाचन हुने दिनसहित कम्तीमा तीन दिन सार्वजनिक बिदा दिँदा नागरिकहरूलाई आफ्नो नाम दर्ता भएको क्षेत्र वा मतदान केन्द्रमा पुगेर सहज रूपमा मतदान गर्न सकिने निष्कर्ष निकालेको छ । यसका लागि मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक नीतिगत प्रबन्ध गर्न अध्ययनले सुझाव दिएको छ ।
त्यसैगरी, गत निर्वाचनमा जस्तै सुरक्षाकर्मी (म्यादी प्रहरीसहित), निजामती कर्मचारी तथा शिक्षकहरूलाई खटिएकै केन्द्रबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न मिल्ने व्यवस्थालाई अझ परिष्कृत र सरल बनाउन ‘मतदाता नामावली नियमावली ऐन, २०७३’ को दफा ३० लाई व्यवस्थित गर्न सुझाव दिएको छ । उनीहरूलाई परिचयपत्रका आधारमा सजिलै मतदान गर्न सकिने लचिलो व्यवस्था गर्ने प्रस्ताव पनि प्रतिवेदनमा समावेश छ ।
प्रतिष्ठानले केही दिन अघि यस सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइसकेको छ ।
आगामी फागुन २१ गते बिहीबारका दिन प्रतिनिधि सभा निर्वाचन हुने तय भइसकेको छ । प्रतिष्ठानको सुझावअनुसार तीन दिन सार्वजनिक बिदा लागू भएमा करिब पाँच दिनसम्म लगातार सार्वजनिक बिदा पर्नेछ । फागुन १८ गते काठमाडौंसहित पहाडी क्षेत्रमा फागु पूर्णिमाको बिदा, १९ गते तराईका जिल्लामा फागु पूर्णिमाको बिदा रहनेछ ।
यदी सिफारिस अनुसार फागुन २०, २१ र २२ गते बिदा लागू भयो भने २३ गते शनिबार र २४ गते नारी दिवस भएकाले लगातार बिदा हुनेछ । यसले मतदाताहरूलाई आफ्नो स्थायी ठेगानामा गएर सहज रूपमा मतदानमा सहभागी हुने पर्याप्त समय उपलब्ध गराउने अध्ययनमा उल्लेख गरिएको छ ।