© २०२३
बुटवल, ५ मंसिर ।
सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इञ्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखाको शहीद लखन गाउँपालिका घरभई हाल काठमाडौं बसोबास गर्दै आएका श्रेष्ठलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। निर्णयका बारेमा सरकारका प्रवक्ता तथा सञ्चार–सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
सरकारले यो पद खुलेको प्रतिस्पर्धा बिना नै श्रेष्ठलाई नियुक्त गरेको हो। यसअघि २०७४ सालमा तत्कालीन सरकारले खुला प्रतिस्पर्धामार्फत अजितमान तामाङलाई सदस्य सचिव नियुक्त गरेको थियो। तर २०७८ मा सानुराजा शाक्यलाई भने मन्त्रिपरिषद् बैठककै निर्णयबाट नियुक्त गरिएको थियो।
लुम्बिनी क्षेत्रमा सरोकार राख्ने विभिन्न समूहहरूले प्रतिस्पर्धा प्रक्रिया अवलम्बन नगरी रुपन्देही बाहिरका व्यक्तिलाई जिम्मेवारी दिने काम अस्वीकार्य हुने चेतावनी दिँदै आएका थिए। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले प्रतिस्पर्धाविना सदस्य सचिव नियुक्त गर्न लागेको विषय बुटवल टुडे डटकमले यसअघि नै सार्वजनिक गरेको थियो।
नियुक्तिपछि श्रेष्ठले लुम्बिनीमा काम गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रीहरूको निर्णयप्रति कृतज्ञता व्यक्त गर्दै आफूले जिम्मेवारीअनुसार प्रभावकारी काम गर्ने बताए।
“झण्डै २० वर्ष इन्जिनियरिङ क्षेत्रका विभिन्न पदमा काम गरेको छु। जहाँ जिम्मेवारी पाएँ, त्यहाँ परिणाम देखिने गरी काम गरेको छु,” ४६ वर्षीय श्रेष्ठले भने, “काम गरेर परिणाम देखाउने ठाउँमा पठाउनुस् भनेको थिएँ। लुम्बिनीका विषयमा मेरो पनि चासो थियो, त्यसैले यो जिम्मेवारी स्वीकार गरेको हुँ। यसअघि भएका सकारात्मक कामलाई निरन्तरता दिनेछु।”