© २०२३
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति र सुव्यवस्था कायम गर्न बनेको बताए ।
शुक्रवार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्दै अध्यक्ष ओलीले यो फोर्स कसैका विरुद्धमा नभएको जिकिर गरे ।
अध्यक्ष ओलीले भने, ‘यो फोर्स कसैको विरुद्धमा बनेको होइन । हिंसा र आतंकका विरुद्धमा बनेको होइन ।’
उनले आफ्ना स्वंयसेवकहरू अनुशासित भएर काम गर्ने पनि बताए । उनले थपे, ‘यो स्वंयसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन, राष्ट्रिय हितका लागि गठन भएको हो ।
नेकपा एमालेसँग असहमति राख्ने वा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षाका लागि गठन गरिएको हो । यसको गठनसँग कोही पनि आत्तिनु हुँदैन, तर्सिनु हुँदैन ।’
ओलीले राज्य संयन्त्रले मात्र शान्ति-सुव्यवस्था कायम गर्न नसक्ने अवस्था रहेकाले फोर्स घोषणा गरिएको बताए । उनले भने, ‘यो देशमा शान्ति र सुव्यवस्था कायम गर्न बनेको हो ।
राज्य संयन्त्रले मात्र शान्ति-सुव्यवस्था कायम गर्न सक्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानको रक्षा हुने अवस्था रहेन ।’