© २०२३
काठमाडौं, ५ मंसिर ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीललगायतको टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको हो ।
ठेक्का सम्झौता भएको करिब १४ वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न नभएकाले स्थानीय नागरिकले ठूलो सास्ती व्यहोर्नुपरेको जनाउँदै आएका छन् । पुल नबन्दा सवारी साधनलाई लामो मार्ग प्रयोग गर्न बाध्य हुनु परेको गुनासो आएपछि मन्त्री घिसिङले समस्या बुझ्न र समाधानका उपाय खोज्न स्थल निरीक्षण गरेका हुन् ।
तराई/मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ जेठमा पप्पु लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँ (भ्याटसहित)मा ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता अनुसार पुल २०७१ मंसिरमा निर्माण सम्पन्न हुनुपर्ने थियो ।
तर तोकिएको समयमा निर्माण कार्य सम्पन्न नभई आठौं पटकसम्म म्याद थप्नुपरेको छ । अन्तिम पटक थपिएको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीले फेरि आगामी असारसम्मका लागि म्याद थपको प्रस्ताव पठाएको र हाल ठेक्का म्याद थपको प्रक्रिया चलिरहेको मन्त्रालयले जनाएको छ ।
पुल निर्माणमा भइरहेको ढिलाइबारे मन्त्री घिसिङले “यो पुल समग्र मधेश क्षेत्रको विकासका लागि अत्यन्त महत्वपूर्ण भएकाले निर्माण कार्य तीव्र गतिमा अघि बढाइनेछ,” भन्दै प्रतिबद्धता जनाए । उनले यसअघि भएको ढिलाइ तथा संभावित अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी देखिएकालाई कानुनअनुसार कारबाही हुने बताए ।
अनुगमनका क्रममा स्थानीयले पुलको काम छिटो हुनुपर्ने माग राखेका थिए । मन्त्री घिसिङ धनुषातर्फबाट डुङ्गा चढेर सिरहा पुगेका थिए, जहाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग संयुक्त रूपमा निर्माण स्थल निरीक्षण गरिएको थियो ।
हालसम्म २० करोड ४३ लाख रुपैयाँ (भ्याटसहित) भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ । पुल निर्माणको भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत रहेको छ । कुल १२ स्पान रहेको पुलको लम्बाइ ४६९ मिटर छ ।
व्यवसायीले नै डिजाइन तयार गरी निर्माण गर्ने मोडेलमा ठेक्का सम्झौता भएकाले पुलसँगै नदीका दुवै किनारमा १३०० मिटर नदी नियन्त्रण तथा २०० मिटर पहुँच मार्ग निर्माण गर्नुपर्नेछ ।
१७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलका दुईवटा जग भासिनुका साथै चार वटा स्लाबमा क्षति पु¥याएको थियो । क्षति पुगेका स्लाबमध्ये दुई वटा हटाइसकिएको छ भने बाँकी दुई वटा हटाउन बाँकी छ ।
विज्ञ टोलीमार्फत माटो परीक्षण गरी परिमार्जित डिजाइन तथा आईओई तयार पारिएको छ । परिमार्जित डिजाइन अनुसार सिरहा पट्टि दुई स्लाब हटाउने, एउटा स्लाबको पायल क्याप सुधार्ने तथा अर्कोको २ मिटर स्टिम ढलान गरी बाँकी दुई स्पानलाई दह्रो बनाउने काम बाँकी छ ।
स्वीकृत परिमार्जित डिजाइन अनुसार पुल निर्माण तथा पुनर्स्थापना कार्य आगामी असारभित्र सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।