Butwal Today

जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौता कार्यान्वयन सम्भव छैन: प्रचण्ड

५ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, ५ मंसिर ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धले उठाएका मूल मुद्दा पूरा नभएसम्म विस्तृत शान्ति सम्झौताका सबै प्रावधानहरूको पूर्ण कार्यान्वयन सम्भव नहुने बताएका छन् ।

विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा एक विशेष सन्देश जारी गर्दै प्रचण्डले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गरिएको ऐतिहासिक सम्झौताले देशलाई नयाँ राजनीतिक दिशातर्फ अघि बढाएको स्मरण गरे । उनले शान्ति प्रक्रियामा विभिन्न भूमिकाबाट योगदान पुर्‍याउने सबैप्रति सम्मान व्यक्त गर्दै बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

सन्देशमा प्रचण्डले भनेका छन्, “नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौताप्रति आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी काम पूरा गर्न कटिबद्ध रहनेछ ।”

विद्रोही नेकपा माओवादीका तत्कालीन अध्यक्ष समेत रहेकाहरू प्रचण्डले सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दाहरू जनयुद्धले उठाएका प्रमुख एजेन्डा भएको उल्लेख गर्दै ती पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नहुने धारणा राखे ।

प्रचण्डले नेपालको विद्यमान समस्याहरू समाधान गर्न सबै राजनीतिक पक्ष, सरोकारवालाहरू तथा नागरिक समाज एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए ।