© २०२३
काठमाडौँ ।
तीन दिनदेखि आन्दोलनमा उत्रिएका जेनजी र स्थानीय प्रशासनबीच अब वार्ता हुने भएको छ । बुधबार सिमरामा एमालेविरुद्ध प्रदर्शन गरिरहेका जेनजीलाई एमाले कार्यकर्ताले कुटपिट गरेको भन्दै उनीहरूले प्रदर्शन गरिरहेका थिए ।
कुटपिटमा संलग्न रहेका मध्ये दुई जना वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कुटपिटमा संलग्न तीन जना पक्राउ परे पनि वार्ता कहाँ गर्ने भन्ने विषयमा दुई पक्षबीच यसअघि सहमति भएको थिएन ।
प्रशासनले वार्ता सदरमुकाम कलैयामा गर्नुपर्ने र जेनजीले सिमरामा गर्नुपर्ने बताउँदै आएका थिए । अन्ततः दुवै पक्षले पथलैयाको सशस्त्र प्रहरीको ब्यारेकमा वार्ता गर्ने सहमति गरेका छन् ।
वार्ता बुधबार ३ बजेपछि सुरु हुने जानकारी बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार, वार्तामा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, नेपाल प्रहरीका एसपी सन्तोष तामाङ, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख पनि पथलैयातर्फ गएका छन् ।
जेनजीको तर्फबाट सम्राट भन्ने साइकुश उपाध्याय सहभागी छन् । यसैगरी, वार्ताका लागि सहजीकरणकर्ता जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल पनि सहभागी हुनेछन् ।
बुधबार बारा जान लागेका एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेस बस्नेतलाई अवरोध गर्न पुगेका जेनजीलाई एमाले कार्यकर्ताले कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न जितपुर सिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, ६ का वडाध्यक्ष कैमद्विन अन्सारी, र स्थानीय कार्यकर्ता अरबिन्द साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।