© २०२३
कपिलवस्तु ।
बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर चोकमा श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले एलइडी डिजिटल स्क्रिन जडान गरी स्थानीयवासीलाई सूचना र मनोरञ्जन दुवैको सुविधा उपलब्ध गराएको छ ।
स्क्रिनमार्फत अहिले एनपिएल क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्न पाउँदा दर्शकहरूमा उत्साह बढेको छ ।
समूहका अध्यक्ष शुशिल सिंह ठकुरीका अनुसार स्क्रिन जडानसँगै वनले एक कार्यविधि तयार पारेर सह–सशुल्क सेवामार्फत सूचना प्रसारण गर्ने योजना बनाएको छ ।
डिजिटल युगसँग समुदायलाई जोड्ने उद्देश्यले यो स्क्रिन राखिएको हो । सरकारी कार्यालयका सूचना, सामुदायिक वनका गतिविधि, सामाजिक–धार्मिक कार्यक्रम, सांस्कृतिक सम्पदा, कपिलवस्तुका पर्यटन संभावनाहरू तथा विभिन्न आवश्यक सूचनाहरू सबैलाई सरल रूपमा उपलब्ध गराउने लक्ष्य रहेको अध्यक्ष ठकुरीले बताए ।
श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले नियमित रूपमा विविध सामाजिक कार्य गर्दै आएको छ । वन संरक्षण तथा व्यवस्थापन, विपन्न तथा असहाय परिवारलाई सहयोग, विद्यालय तथा सामुदायिक कार्यक्रममा समर्थन, चोक तथा सडक क्षेत्रमा सरसफाइ र सुधार जस्ता कार्यले यस समूहलाई स्थानीयको मनमा अलग्गै स्थान दिलाएको छ ।
चारनम्बर चोकमा एलइडी स्क्रिन सञ्चालनमा आएपछि नियमित हिँडडुल गर्ने स्थानीयदेखि व्यापारी, विद्यार्थी र खेलप्रेमीसम्मले यस कदमलाई प्रशंसनीय र समयानुकूल कदमका रूपमा स्वागत गरेका छन् ।
४ नम्बर क्षेत्रलाई डिजिटल चोक बनाउने अभियानमा स्थानीयको उत्साहले थप हौंसला दिएको अध्यक्ष ठकुरीले बताए ।
उनका अनुसार कपिलवस्तुको सामाजिक, धार्मिक र सांस्कृतिक सम्पदा, यहाँका पर्यटन गन्तव्य तथा स्थानीय कार्यक्रमहरूलाई अझ व्यापक रूपमा सार्वजनिकमा पुर्याउन एलइडी स्क्रिन प्रभावकारी माध्यम बन्ने विश्वास सामुदायिक वनले व्यक्त गरेको छ ।
चारनम्बर चोकमा जडान भएको यो स्क्रिन केवल मनोरञ्जनको साधन मात्र होइन, सामुदायिक सूचना प्रवाहलाई आधुनिक बनाउने एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।