Butwal Today

रहतावल सामुदायिक वनमा ‘हात्ती र बाघ’ कसले मार्ला बाजी ?

५ मंसिर २०८२, शुक्रबार
अ+
अ-

चन्द्रौटा, ५ मङ्सिर ।

कपिलवस्तुको एक सामुदायिक वन उपभोक्ता समूहमा कडा प्रतिस्पर्धा हुने भएको छ ।

वडा नम्बर ३ र ५ मा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समूहमा सहमति नभएपछि प्रतिस्पर्धा हुने भएको हो । गत कार्तिक २२ गते भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा हिसाब हिनामिना र मनोमानी तरिकाले सदस्य बनाएको भन्दै विवाद भएको अधिवेशन रोकिएको थियो ।

रोकिएपछि नवराज पाण्डे संयोजक रहने गरी ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको वनले जनाएको छ । पछि ४ पटक सहमति जुटाउन उत्तर रहटकोलको चौपारीमा बोलाइएको थियो । सहमति नजुटेपछि अन्ततः निर्वाचन प्रक्रियामा पुगेको छ ।

यही मङ्सिर ६ गते निर्वाचनको मिति र चुनाव चिन्ह तय भएपछि हात्ती र बाघको कडा प्रतिस्पर्धा हुने भएको देखिएको छ । हात्ती पक्षको अध्यक्षमा उत्तम चौधरी थारु रहेका छन्, भने बाघ पक्षमा यज्ञ बहादुर बेल्वासे रहेका छन् ।

अध्यक्ष पदका दुवै उम्मेदवार बलियो मानिएका छन् । यसमा आम उपभोक्ताहरूको कौतुहल्ता जाग्नु स्वाभिवक हो ।

कसले मार्ला बाजी ?

थारुले जित्ने आधार बलियो रहेको उपभोक्ताहरूको भनाई छ । वन उपभोक्तामा करिब ७५ प्रतिशत उपभोक्ता थारु समुदायको बाहुल्यता रहेको हुनाले उनी बलियो देखिएका छन् ।

स्थानीय विभिन्न सङ्घ संस्थाहरूमा सक्रिय रहेको बताउँदै सोही वनमा डेढ वर्ष बढी कार्यालय सचिवको रूपमा काम गरेको अनुभव छ उनीसँग । थारु गायन क्षेत्रमा प्रभावकारी भूमिका रहेको थारु चुनावी मैदानमा उत्रिएका बताएका छन् ।

एमाले निकट मानिएका उनलाई राप्रपा, काँग्रेस, लगायत अन्य पार्टी, सङ्घसंस्थाबाट समेत समर्थन रहेको बुझिएको छ । उनले भने: “पार्टीगत लडाइ होइन, यो केवल भष्ट्रचारविरुद्ध हो ।”

पछिल्लो समय देशको समय सापेक्ष अनुसार थारु जेनजी पुस्ताका युवासँगै मिडिया क्षेत्रको अनुभवी रहकोले भविष्यमा प्रभावकारी गतिविधि गर्न सक्ने जिकिर गर्दै आफू जित्ने आधार बलियो रहेको बताउँछन् ।

यता बेल्वासेले आफू पहिला आफू अध्यक्ष भएर वन चलाएको दाबी गरेका छन् । प्रतिवेदन, आय–व्यय र आगामी योजना प्रस्तुत गर्दा पारदर्शिता नदेखिएको भन्दै केही उपभोक्ताहरूले आपत्ति जनाएका थिए ।

उनीहरूले समितिमा सर्वसाधारणको सहभागिता नहुने, आफ्नै समूहका सदस्यहरूलाई मात्र निर्णय प्रक्रियामा सहभागी गराउने र अनियमितता ढाकछोप गर्न खोजिएको आरोप समेत उनी माथि लागेको छ । यस्तो गम्भीर उनी माथि लाग्दा पूर्व अध्यक्ष रहेका बेल्वासेले पुनः अध्यक्ष हुने भन्दै उम्मेदवारी दिएका छन् । अधुरा योजना पूरा गर्न आफू उम्मेदवारी दिएको उनले बताएका छन् ।

एमाले निकट रहेका बेल्वासे नेपाल प्रहरीमा पूर्व जागिरे समेत हुन् । साधारण सभाको बखत खुला मञ्चमा समेत कसैसँग भोट नमाग्ने बताउँदै उत्तेजित भएका स्थानीय बताउँछन् ।