Butwal Today

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

५ मंसिर २०८२, शुक्रबार
अ+
अ-

बुटवल ।

पाल्पाको रानीमहल अवलोकन भ्रमणमा हिँडेका विद्यार्थी बोकेर आएको बस आज बिहान दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ११ जना सामान्य घाइते भएका छन् । दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी लिएर पाल्पा भ्रमणका लागि आएको ना ५ ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

रानीमहल जाँदै गर्दा तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिक बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको पाल्पाका डिएसपी होम प्रकाश चौधरीले बताए ।

दुर्घटनामा परी घाइते हुनेहरूमा दाङ राजपुर गाउँपालिका–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका–११ का २२ वर्षीय दामोदर रेउले, बस चालक घोराही–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर–५ की १२ वर्षीय सन्ध्या भण्डारी र राजपुर–६ की १८ वर्षीय दिलकुमारी रावत रहेका छन् ।

यस्तै, राजपुर–६ की १० वर्षीय सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली, राजपुर–५ की २३ वर्षीय सिर्जना यादव, १३ वर्षीय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव तथा घोराही–९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् ।

घाइते सबै जनालाई उपचारका लागि मिसन अस्पताल तानसेन पठाइएको प्रहरीले जनाएको छ ।