© 2026
नवलपरासी, ०४ मङ्सिर ।
जिल्लाको ‘सुस्ता नमुना ताल’ को नयाँ स्वरूपले पर्यटकलाई आकर्षण गरेको छ ।
पटेर लगायतका झाडीले भरिएको पुरानो जलाशयलाई लगानी गरी सुस्ताले तालको स्वरूप पाएपछि तालमा हेर्न आउनेको आकर्षण बढ्दै गएको हो । सुस्ता गाउँपालिकाले डेढ करोड लगानी गरी तालको स्वरूप बदलेको हो ।
लुम्बिनी प्रदेश सरकारसँग पनि सो जलाशय व्यवस्थित गरी ताल बनाउने योजना अगाडि सारेको थियो । त्यसै प्रयोग विहीन रहेको जलाशयलाई व्यवस्थित गरी तालको स्वरूप बनाउने र पर्यापयर्टन, जल विहार लगायतका पर्यटन गतिविधि गर्ने गरी गाउँपालिकाले काम गर्न सुरु गरेको थियो ।
तालमा तीन वर्षदेखि सुस्ता गाउँपालिको निरन्तर लगानी गर्दै सरसफाइ तथा व्यवस्थापनमा जुटेपछि अहिले तालले नयाँ स्वरूप पाएको स्थानीयले बताएका छन् ।
यस्तो ताल बन्ला भनेर लागेको थिएन, स्थानीय लख्खु यादवले भने, तर अहिले सफा भए पश्चात् तालले स्वरूप पाएको छ ।
ताल नयाँ स्वरूप पाउँदै गर्दा स्थानीयमा पनि उत्साह थपिएको यादवको भनाइ थियो ।
सुस्तालाई तालले नयाँ पहिचान गराउने छ, उनले भने, त्यसै खेर गइरहेको जलाशयलाई तालमा परिवर्तन गरी पर्यापर्यटन बढाउनमा हामी विश्वस्त छौँ । गाउँपालिका भित्र रहेको करिब डेढ सय बिघाको जलाशयलाई तालको रूपमा संरक्षण गर्नका लागि काम थालेको छ ।
सुस्ता गाउँपालिका कुडिया र नर्सही गाउँको बिचमा रहेको जलाशयलाई तालको रूपमा व्यवस्थित गर्नका लागि लुम्बिनी प्रदेश सरकारसँग १० करोड रकम माग गरिएको सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले थिए ।
उनका अनुसार हालसम्म डेढ करोड खर्च भई सकेको छ । एक करोड रुपियाँ अझ लगानी गरिदिएमा तालमा स्टिमर मोटर ढुङ्गा लगायतका जल विहार गर्न पाउने अवस्था हुन्छ ।
तालको वरिपरि आउने पर्यटकका लागि बस्ने, रमाउने स्थानको समेत निर्माण गर्न सकिन्छ । विगत भन्दा अहिले तालमा आकर्षण बढ्दै गएको छ ।
थोरै रकम विनियोजन भई आए पनि क्रमशः काम गर्दै जाने लक्ष्य अनुसार नै काम अगाडि बढेको उनको भनाई थियो । बर्षाै देखी गण्डक नदीको छाडन भनेर चिन्ने गरिएको उक्त जलाशयमा गोही लगायतमा विभिन्न जलचरहरू रहेका छन् ।
पटेरले भरिएको छ । सो जलाशयलाई जैविक विविधताको संरक्षण गर्दै तालको रूपमा परिणत गरिने छ । जहाँ पर्यापर्यटनका लागि पनि धेरै पर्यटक आउन सक्ने स्थानीयको अनुमान छ ।
विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि केही काम गरेको थियो । बिचमा बेवारिसे जस्तै भयो । अहिले गाउँपालिका र प्रदेश सरकारले यसमा काम गर्न लागेको छ ।
बेवारिसे सो जलाशय ताल र सिमसारको रूपमा विकास हुनेछ, यो एउटा विश्व सम्पदामा जान सक्ने सम्भावना देखिएको छ । व्यवस्थापन पछि सिमसार सम्बन्धी रामसार महासन्धि अनुसार सूचिकृत हुने र विश्व सम्पदाको स्वरूप पाउनेमा उनले विश्वास ब्यक्त गरे ।
सुस्ता गाउँपालिकालाई पर्यापर्यटन र जैविक विधिताको पहिचान गराउने छ । स्थानीयलाई आर्यआर्जनको माध्यम पनि हुनेमा उनले विश्वास ब्यक्त गरे । स्थानीयवासीले धेरै वर्ष देखी यो जलाशयको संरक्षण गरी ताल बनाउनुपर्ने सरकारसँग माग गर्दै आएका थिए । तर हुन सकेको थिएन ।
अहिले स्थानीय सरकारको रूपमा रहेको सुस्ता गाउँपालिकाले निर्णय गरी अग्रसरता लिएको छ । ताललाई बवस्थित गर्नका लागि आफू लुम्बिनी प्रदेशसँग निरन्तर लागेको सो क्षेत्रमा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार (सन्तु) ले बताए ।
यो वर्ष पनि ३० लाख रकम बजेट विनियोजन भएको छ । सुस्ता पुल, भगवान् गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अनेमा घाट (ठाढीघाट), सुस्ता ताल, सतपति तथा मदारबाबा लगायतका स्थान जोडेर पर्यटकीय कोरिडोरको रूपमा विकास गर्ने गरे आफू लागेको दाबी गरे ।
सबै क्षेत्रमा केही न केही बजेट विनियोजन गरिएको छ, उनले भने, बजेटले मात्रै नभई स्थानीय सरकार र स्थानीयवासी पनि पर्यटकीय क्षेत्र बनाउन, प्रचारप्रसार गर्नमा अग्रसरता लिनु पर्छ ।
बजेट खोज्ने र बजेट खर्चने काम गरेर मात्रै पर्यटन क्षेत्रको विकास सम्भव नहुने बताउँदै सम्बन्धित क्षेत्रलाई स्थानीय संस्कृति, परम्परा तथा आर्थिक उपार्जनका माध्यम समेत बनाई स्थानीय लाग्नुपर्छ ।
स्थानीयवासीको माग अनुसार नै सो जलाशयलाई सिमसार र सुस्ता नमुना तालको रूपमा चिनाउनका लागि गाउँपालिकाले काम सुरु गरेको छ । एकीकृत रूपमा जलाशयको पहिलो चरणमा सिमाङ्कन गर्ने र तत्पश्चात् यसलाई गुरुयोजना बनाई काम पनि गर्दै लैजाने रहेको छ ।
गण्डक नदीले विगत वर्षमा आफ्नो धार परिवर्तन गरी पश्चिम तर्फ फर्केको थियो । पछि गण्डक बाँध बाँधेर नदीको धार पूर्व तर्फ फर्काइयो । त्यही बेला देखी सो क्षेत्र जलाशयको रूपमा रहेको छ ।
स्थानीय स्तरमा त्यसलाई छाडन भनेर चिन्ने गरिएको छ । छाड्न भनेको गण्डक नदीले आफ्नो मूलधारबाट छाडेर गएको जलाशय हो । त्यसमा जलचरहरूको बास बनेको छ । सो जलाशयमा साइबेरिएन लगायत विदेशी चराहरू समेत आउने गरेका छन् ।
करिब १० देखी १५ मिटर गहिराई भएको अनुमान गरिएको छ । प्राकृतिक रूपमा रहेको उक्त जलाशय आयआर्जनको स्रोत पनि बन्ने र सिमसारको रूपमा रहने गरी पर्यापर्यन गराउने गरी सजाउने योजना रहेको गाउँपालिकाको रहेको छ ।
सुस्ता गाउँपालिकाको मात्रै सम्पदा रहेको छ, व्यवस्थित गरेर यसलाई राष्ट्रिय सम्पदा बनाउँदै विश्व सम्पदामा समेत सूचीकृत गराउने गरी गाउँपालिका लाग्ने उनको भनाइ थियो । गण्डक नदीले छाडेको जलाशय भएको हुँदा सो जलाशयमा जल अभाव पनि नहुने अवस्था हुन्छ ।
गण्डक नदी हिम नदी हो । सो नदीमा पानी अभाव कहिल्यै हुदैन् । नदीकै पानी चुहिएर (सिपेज) भई सो जलाशय भरिभराउ रहने छ ।
जलाशयमा जल विहारसँगै अन्य खुल्ला मत्स्यपालन समेत गर्ने सम्भावना पनि उत्तिकै रहेको छ, तर पहिला तालमा रहेका झाडी सोतरहरू सफा गरेर तालको स्वरूपमा फर्काउन पर्छ ।
अनि मात्र सम्भाव्यताको आधारमा अन्य काम गर्दै जानु पर्ने विज्ञहरूको भनाइ रहेको छ ।