© २०२३
बुटवल, ४ मंसिर।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भौतिक पूर्वाधार निर्माण मात्रले समाजको सार्थक विकास सम्भव नहुने बताउँदै आर्थिक, सामाजिक तथा नैतिक शिक्षाको सुदृढीकरणमार्फत मात्र दिगो रूपान्तरण हासिल गर्न सकिने बताएका छन्।
बुटवल–१२ तामनगरमा आयोजित बुद्ध टोल विकास संस्थाको ११औँ साधारण सभा तथा ५औँ अधिवेशनको उद्घाटन गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, मानव विकास जस्ता विषयलाई उपमहानगरको प्रमुख लक्ष्यका रूपमा अघि सारिएको जानकारी दिए। पाण्डेयले टोल विकास संस्थाहरू स्थानीय सरकारका विकास, समन्वय र सहकार्यका महत्वपूर्ण आधारशिला भएकाले तिनलाई अझै सुदृढ र जिम्मेवार बनाइनु आवश्यक रहेको उल्लेख गरे।
सो अवसरमा बुटवल–१२ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले टोल विकासका माध्यमबाटै योजना संकलनदेखि कार्यान्वयनसम्मको प्रक्रिया सहज र विवादरहित हुने गरेको बताए। उनले आवश्यक योजनामा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।
भूपू सैनिक कल्याणकारी संघका अध्यक्ष पूर्णबहादुर शाहीले टोलमा एकता, विश्वास र समझदारी बढ्दै गए समुन्नत समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरे। कार्यक्रम सञ्चालन गरेको बुद्ध टोल विकास संस्थाकी अध्यक्ष शारदा सुवेदीले वार्षिक प्रगतिबारे प्रस्तुत गर्दै संस्थाले आगामी वर्षका लागि शिक्षा, सरसफाइ, मौलिक सांस्कृतिक संरक्षण तथा सामाजिक अभियानलाई प्राथमिकता दिएको जानकारी गराइन्।