Butwal Today

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

४ मंसिर २०८२, बिहीबार
अ+
अ-

बुटवल, ४ मंसिर ।

रास्वपाका सभापति रवि लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ आज स्थगित भएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थामा गरिएको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो । तर, पाटन उच्च अदालतमा पनि लामिछानेसम्बन्धी अर्को पेसी परेको हुँदा उनीतर्फका कानुन व्यवसायीले बुटवल इजलासमा स्थगन मागेपछि सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।

यसअघि कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोग मिसिल मगाउन आदेश दिएको थियो । सो मिसिल प्राप्त भएपछि आज (बिहीबार) का लागि पेसी चढाइएको थियो ।

कात्तिक २० गतेको सुनुवाइमा पनि आचार्य–अर्याल इजलासले ‘सुरु मिसिल’ मगाउन आदेश दिएको थियो । सर्वोच्चबाट मिसिल नआए पनि जिल्ला अदालतबाट प्रतिलिपि आएपछि बिहीबारका लागि पेसी तोकिएको हो । लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाइरहेको समेत सूचना अधिकारी कुँवरले जानकारी दिए ।

यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ सुनुवाइ गर्न आदेश दिएको थियो । बिगोबमोजिम रकम बुझाई थुनामुक्त हुन माग गर्दै लामिछानेले निवेदन दियेपछि उच्च अदालतले जोशीको फाइल पनि पेस गर्न आदेश गरेको हो ।

उच्च अदालत, बुटवलले यसअघि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन समेत माग गरेको थियो । सहकारीमा भएको अपचलनबापत आफ्नो भाग बराबरको बिगो दाखिला गरिसक्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

लामिछानेले जिल्ला अदालतमा पनि बिगो दाखिला गरी थुनामुक्ति माग गरेका थिए । तर न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनीहरूको निवेदन अस्वीकार गरेको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर भएको छ । सो बिगोको चार भागमध्ये आफ्नो हिस्साको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ लामिछानेले बैंक जमानतका रूपमा पेस गरेका छन् । जोशीले पनि त्यति नै रकमबापत जमानत पेश गरेका थिए ।

तर, दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्ने भन्ने निश्चित नहुँदा दुवैलाई थुनाबाट रिहा नगर्ने निर्णय भएको हो। हाल लामिछाने ललितपुरस्थित नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?