© २०२३
चन्द्रौटा, ०४ मङ्सिर ।
बिहानीसँगै आँगन छेउमा रातो–आगो । रातो–तातो फलाम । ढन–ढन आवाज । फलाममाथि हथौडा बजारिँदा । यससँगै विश्वकर्मा दाजुभाइको दैनिकी सुरु हुन्छ परिश्रम र पसिनाको । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–३, खरेन्द्रपुरमा यही आवाज, यही पसिना र यही आगोले पिन्टु विश्वकर्मा र रमेश विश्वकर्माको परिवारको जीवन चलाएको छ ।
यी दुवै भाइको बाल्यकाल यही आरनको छेउमा बित्यो । उनीहरूका हजुरबुवा बुधई लोहार र बुबा भरत लोहार पनि यही पेसामा थिए । पिँढी दरपिँढी हस्तान्तरण हुँदै आएको यही परम्परागत सीप अहिले उनीहरूका हातमा पुस्तान्तरण भएको छ ।
तर केही वर्षअघि बुबा भरत लोहारको असामयिक निधनले परिवारलाई ठुलो चोट पुगेको थियो । एक दर्जनको ठुलो परिवारको जिम्मा अब यी दुई भाइका काँधमा आइपुगेको छ । “हामीले नबनाए गाउँमा कोही औजार पाउँदैनथ्यो ।
खेतीपाती देखि घरधुरीसम्म सबै हाम्रो हातको भरमा निर्भर हुन्थे” पिन्टु सम्झिँदै भने-ः “बुबाले सिकाउनुभएको सीप नै अहिले हाम्रो जीवनको आधार बनेको छ ।” बिहान सूर्योदयसँगै उनीहरू आरन तताउँछन्, फलाम तताउँछन् र हथौडा चलाउँदै पसिनासँगै भविष्य लेख्न थाल्छन् ।
पिन्टु थपे “हामी बन्दुक बाहेक जे पनि बनाउन सक्छौँ–हलको फाल, हँसिया, कुञ्जी, दर बाजाका पाटा, चिम्टा, चक्कु, भाँडाकुँडा, सबै ।” उनीहरूका लागि बुधबार र आइतबारको बजार विशेष महत्त्व दिने गरेको बताउँछन् ।
ती दिन बिहानै उनीहरू आफैँले बनाएको सामान बोकेर हाटबजार पुग्छन् । किसानले हलको फाल खोज्छ, गृहिणीले हँसिया र चिम्टा माग्छन् ।
कोही पुरानो ग्राहक “पछिल्लो चोटिको हँसिया राम्रो काम ग¥यो” भन्छन्, कोही नयाँ अर्डर दिन्छन् । बजार नै हाम्रो जीवन रेखा हो ।
ती दिन आम्दानी भएन भने चुलो बाल्नै गाह्रो हुने गरेको उनीहरूले सुनाए । तर यो सङ्घर्ष सहज छैन । आधुनिक कारखानाबाट बनेका सस्ता सामान बजारमा बाढीझैँ आएका छन् । फलाम, कोइला र अन्य कच्चा पदार्थको मूल्य पनि बढ्दो छ ।
“हाम्रो मेहनत धेरै हुन्छ, तर मूल्यले कहिलेकाहीँ न्याय नपाएको पिन्टुले बताए । यद्यपि, उनीहरूलाई गर्व छ—गाउँले उनीहरूको पसिनाको फल प्रयोग गर्छन्, आफ्नै गाउँका हातले बनेका औजारले खेतबारी जोतिन्छन् ।
‘जब कोही ग्राहक आउँछ र भन्छ–तपाईँको बनाएको हसियाले राम्रो काम ग¥यो—त्यो सुन्दा थकाइ सबै हराउँछ । त्यही हाम्रो पुरस्कार हो’ उनले भने । आरनको पेसा केवल जीविकोपार्जनको माध्यम होइन, गाउँलाई आत्मनिर्भर बनाउने स्रोत पनि हो ।
खेतमा जोत्न प्रयोग हुने हल, धान काट्न हँसिया, घरमा आगो बाल्न चिम्टा—यी सबै परम्परागत सीपले जीवनलाई चलाइरहेका उदाहरण समेत बनेका छन् । यस्ता खालका जीवन उपयोगी सीप हराउँदै गएकोमा उनीहरू चिन्तित छन् ।
अहिलेका युवाले पढेपछि सहर पसेका छन् । यो काम गर्न मान्दैनन् । राज्यले सहयोग गरेन भने यो सीप हराउने खतरा रहेको रमेशले बताए । आरनको आगोमा फलाम मात्र बल्दैन, बल्छ जीवन, श्रम र परम्परा पनि—पिन्टु र रमेशजस्ता सीपधारी हातहरूले निरन्तर यो परम्परा जीवित राखिरहेका छन् ।