© २०२३
नवलपरासी,पश्चिम् ।
पश्चिम् नवलपरासीमा गत आर्थिक वर्ष (०८१/८२) मा ४ सय ३३ जनाले सम्बन्ध विच्छेद गरेका छन् । तुलनात्मक रूपमा श्रीमान् श्रीमती बिचको सम्बन्ध विच्छेदको दर भने बढ्दो देखिएको छ ।
आर्थिक वर्ष ८०/८१ मा ४ सय २९ जनाको सम्बन्ध विच्छेद भएको नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत भेषराज खनालले जानकारी दिए । सम्बन्ध विच्छेद गर्नेमा २० देखि ३० वर्ष उमेर समूहका युवा पीढी बढी रहेका छन् भने २० देखि ४५ वर्ष उमेर समूहका दम्पतीहरूको पनि सम्बन्ध विच्छेद हुने गरेको खनालले बताए ।
खनालका अनुसार सम्बन्ध विच्छेदका लागि महिलाहरूको उजुरी बढी पर्ने गरेको छ । पारिवारिक बेमेल,घरेलु हिंसा,मदिरापान,एक अर्का प्रति अविश्वास लगायत अन्य विविध कारण पति पत्नी बिच सम्बन्ध विच्छेद हुने गरेको छ ।
यी बाहेक पति पत्नीको बिमेलका कारण सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सुविधाका निम्ति पनि सम्बन्ध विच्छेद हुने गरेका छन् । वि.सं. २०७४ सालसम्म महिलाले मात्र सिधै अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउने व्यवस्था रहेकोमा मुलुकी देवानी संहिता २०७४ मा लागू भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउने व्यवस्था रहेको छ ।