Butwal Today

विपद् उद्धारमा ज्यान गुमाउने सशस्त्र प्रहरीले पाउनेछन् बढुवासहित पेन्सन

४ मंसिर २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, ४ मंसिर ।

विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा अब एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन पारित गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आउने भएको हो ।

नयाँ व्यवस्था अनुसार, विपद्मा खटिएका अवस्थामा सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवा प्राप्त हुनेछ । साथै, मृतक कर्मचारीका परिवारले पारिवारिक निवृत्तिभरण पाउनेछन् ।

यसअघिको नियमावलीमा, मुठभेड, आक्रमण, विस्फोट वा हतियारधारी समूहविरुद्धको कारबाहीका क्रममा मृत्यु भएमा मात्रै यस्तो सुविधा उपलब्ध थियो । अबदेखि विपद् उद्धारमा खटिएको बेलामा ज्यान गुमाए पनि कर्मचारीलाई एक तह बढुवासहित निवृत्तिभरण सुविधा लागू हुनेछ ।