Butwal Today

सिमरामा प्रहरी र जेनजी समूहबीच झडप भएपछि पुन: कर्फ्यू लगाइयो

४ मंसिर २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ४ मंसिर ।

बाराको सिमरामा आज पनि तनाव उत्पन्न भएको छ । बुधबारको घटनापछि स्थिति पुनः चर्किँदै गएपछि बिहीबार फेरि तनाव बढेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आज जेनजी समूह र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको हो । जेनजी समूहले राजमार्ग अवरुद्ध गरेपछि खुलाउन गएका प्रहरीसँग वादविवाद हुँदै झडप भएको उनले बताए ।

तनाव बढेपछि सिमरामा फेरि कर्फ्यू आदेश जारी गरिएको छ। स्थिति थप जटिल नबनोस् भन्ने उद्देश्यले सीमित क्षेत्रलाई मात्रै कर्फ्यूको दायरामा राखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । उनका अनुसार बुधबारको तुलनामा आज कर्फ्यू सीमित क्षेत्रमै लागू गरिएको छ ।

बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभामा सहभागी हुन लागेका पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न जेनजी समूहले विरोध गरेपछि स्थिति बिग्रिएको थियो । विरोधका कारण उनीहरू त्रिभुवन विमानस्थलमै फर्कनुपरेको थियो ।

बुधबार पनि तनावकै बीच विमानस्थल आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।