Butwal Today

मह बिक्रीबाट वार्षिक १२ लाख आम्दानी 

४ मंसिर २०८२, बिहीबार
अ+
अ-

दाङ, ४ मङ्सिर । 

माथि हरियो  जङ्गल तल तोरी बारी, बारीका डिलभरी लहरै राखिएका मौरीका घार । दिउँसोको पारिलो घामको समय ती घारबाट धेरै जसो मौरी बाहिर निस्किएका छन् । मौरीले मुखमा नटोकोस् भनेर लामो टोपी लगाएका तीन जनाले घारबाट मह निकालिरहेका छन् ।

घोराही उपमहानगरपालिका –१८ गिठेपानीमा चरनका लागि राखेका मौरीबाट मह निकाल्ने क्रममा देखिएको दृश्य हो यो । घोराही उपमहनगरपालिका –१५ काठेकोहलका बिष्णुराज श्रेष्ठले शिबशक्ती बि कन्सटका नाममा व्यावसायिक रूपमा मौरी पाल्दै  आएका छन्  ।

उनीसँग अहिले १ सय  घार मौरी छन् । बुवाले पाल्दै आउनुभएको मौरीलाई आफूले निरन्तरता दिएको उनले बताए  । उनीसँग भएका घार मौरी मध्ये  घोराही उपमहानगरपालिका –१८ गिठेपानीमा ९० घार  मौरी चरनका लागि राखिएका छन् ।

हिजोआज सोही मौरीबाट मह  काट्न सुरु गरेका छन्  । ९० घारबाट  तीन सय किलो मह आउने आसा उनको छ । यो बिक्री बाट २ लाख १५ हजार आम्दानी हुने  उनले बताए । गतबर्ष मह बिक्री गरेर १२ लाख आम्दानी भएको उनले बताए । यो वर्ष पनि गत वर्ष जति नै आम्दानी हुने उनको आशा छ ।

आफ्नो र अन्य किसानको मह पनि खरिद गरेर बिक्रि गर्ने गरेको उनले बताए । दाङमा सबैभन्दा धेरै मह खरिद र बिक्री आफूले गरेको उनले बताए । दाङको जङ्गलमा चिउरीका बिरुवा प्रशस्त भएकाले यहाँको मह औषधीय गुण हुने उनले बताए  ।

एउटा घारबाट सरदर ३० किलो मह उत्पादन हुने र वर्षमा तीन पटक सम्म काट्न सकिले उनको भनाइ छ । चिउरीको मह सात सय रुपैयाँ किलोमा बिक्री हुने गरेको र तोरीको मह ६ सय रुपैयाँ किलोमा बिक्री भइरहेको छ, उनले भने । “मौरी  पाल्न सजिलो छ, गाईबस्तुलाई जस्तो घाँस, दाना पानी दिनु पर्दैन , गोबरसोत्तर गर्नु नपर्ने भएकाले पाल्न सजिलो रहेको हुन्छ”  ।

सजिलो तरिकाले छोटो समयमा पनि आम्दानी गर्न सकिन्छ । जिल्लाबाट मह भारतको पतञ्जलि आयुर्वेदमा, काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगन्ज, रोल्पा रुकुमलगायतका सहरमा बिक्री गरिँदै आएको श्रेष्ठ  बताउँछन्   ।

नेपाल माहुरी उत्पादक महासङ्घ दाङका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले जिल्लामा यस वर्ष करिब ४०० टन मह उत्पादन हुने बताए ।   गत वर्ष ३५० टन मह उत्पादन भएको थियो । यो वर्ष हिउँदे वर्षा लामो समयसम्म भएकाले मौरीलाई असर गरेको बताए ।

त्यसको असर मह उत्पादनमा कमी आउने उनको आकलन छ।  दाङको हावापानी मह उत्पादनको लागि उत्तम मानिएकाले यहाँ मह अत्यधिक उत्पादन हुने गरेको छ ।
छिमेकी देशबाट आएको कम गुणस्तरीय महका कारण नेपालको मह कम बिक्री भएको थियो गत वर्ष सरकारले बाहिरको मह प्रतिबन्ध गरेकाले सबै मह बिक्री भएको बताए  ।

यो वर्ष सरकारले प्रतिबन्ध फुकुवा गर्ने सुनेकाले मौरी पालक किसानलाई दुखी बनाएको उनको भनाइ छ । स्वदेशी मह बिक्री गर्ने र किसानलाई प्रोत्साहन गर्न विदेशी मह प्रतिबन्ध गर्नुपर्ने उनको माग छ ।   दाङका माहुरीले चिउरी,तोरी, रुदिलो आदिको फूलको रसबाट मह उत्पादन गर्ने भएकाले यहाँको महमा औषधीय गुण भएकाले जतीवर्ष राख्दा पनि नबिग्रने र कुनै बिगार नगर्ने उनले बताए  ।

घोराही  उपमहानगरपालिका -६ का तीर्थ आचार्यले वर्षमा १० किलो मह खाने  गरेको बताए  । उनले विगत ४ वर्षदेखि  शिबशक्ती बि कन्सटबाट मह किन्ने गरेको बताए । यहाँको मह शुद्ध हुन्छ, जति वर्ष राखे पनि नबिग्रने भएकाले आफूले सधैँ यहाँको मह प्रयोग गर्ने गरेको छु, उनले भने  । शिबशक्ति बि मह शुद्ध हुने  भएकाले राम्रो लाग्ने गरेको बताए ।  महले औषधीको काम गर्छ। जाडो होस् या गर्मी जुनसुकै महिनामा पनि मह खाने गरेको उनले बताए ।

दाङको हावापानीमा उत्पादन भएको महमा औषधी हुने भएकाले यहाँको मह सबैले खोजी खोजी प्रयोग गर्न उनले आग्रह गरे । नेपाल सरकारले स्वदेशी महलाई प्रोत्साहन गर्नका लागि गुणस्तर हीन मह प्रतिबन्ध गर्नुपर्ने उनको माग छ । जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासङ्घ दाङले जनाएको छ ।