© २०२३
दाङ, ४ मङ्सिर ।
जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न २७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको घोराही र तुलसीपुर अदालत कार्यालय तथा प्रहरी भवन तोडफोड, आगजनी र लुटपाटमा संलग्न २७ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङको नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार घोराहीमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले आपराधिक गतिविधिमा संलग्नको खोजीका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई पक्राउ गरिएको बताए ।
त्यसै गरी दाङ जिल्ला अदालतको भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न तीन जना, इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला सरकारी वकिल कार्यालयको भवनमा संलग्नमा दुई/दुई जना, घोराहीस्थित भानुचोकमा रहेको प्रहरी विट तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।
उच्च अदालत तुलसीपुर कार्यालय भवन र अस्थायी प्रहरी चौकी बसपार्कमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न सात जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरबाट मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख श्रेष्ठले बताए ।
उनका अनुसार उच्च अदालत तुलसीपुर कार्यालय भवनमा संलग्न चार जना र अस्थायी प्रहरी चौकी बसपार्कमा संलग्न तीन जना गरी २७ जनालाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको बताए ।
जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक तथा सिसिटिभीमा कैद भएको भिडियोका आधारमा संलग्नको पहिचान गर्दै पक्राउ गरिएको बताए ।
सो गतिविधिमा संलग्नहरू फरार रहेका र उनीहरूलाई पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षकको कमान्डमा विशेष टोली गठन गरेर खोजी कार्य भइरहेको जानकारी दिए ।
उनले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भए पनि अहिलेसम्म कसैले उजुरी नदिएको बताए ।