© 2026
काठमान्डौ, ३ मंसिर ।
बाराको सिमरामा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू उल्लङ्घन गर्दै युवाहरूले प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच उत्पन्न हुन सक्ने जोखिमको पूर्वसूचना अनुसार कर्फ्यू आदेश जारी गरेको थियो । तर, सिमराको मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा युवाहरू नाराबाजीसहित सडकमा उत्रेका छन् ।
सुरक्षाकर्मीहरूले माइकिङमार्फत् युवाहरूलाई घर फर्कन चेतावनी दिइरहेका छन् । प्रशासनले गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा बुधबार दिउँसो १२ : ३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न प्रतिबन्ध लगाएको थियो ।
बुधबार बिहानै एमाले कार्यकर्ताले जेनजी अगुवा सम्राट उपाध्यायमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो ।
बाराको परवानीपुरमा एमाले मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गर्दै थियो । सो कार्यक्रम सम्बोधन गर्न काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेत लगायत नेता सिमरा आउँदै थिए ।
जेनजी अगुवा उपाध्यायले मंगलबार बेलुकी सामाजिक सञ्जालमार्फत् शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेपछि बुधबार बिहान सिमरा चोकमा भएको घटनामा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेका थिए । त्यसपछि आक्रोशित युवाहरूले एमाले नेताहरूलाई पछ्याउँदै विमानस्थल पुगेका थिए, जहाँ तनाव उत्पन्न भएको थियो ।
काठमाडौंबाट आउन लागेका नेताहरूलाई स्वागत गर्न एमाले नेताहरू, पूर्वसांसद अच्युत मैनाली, किशान श्रेष्ठ, ज्वाला साह लगायत विमानस्थल पुगेका थिए । नेताहरू विमानस्थल प्रवेश गर्दा जेनजी युवाहरूले मुख्य गेट ढालिदिए, ढुंगा र सिसाका बोतल प्रहार गरे, र निरन्तर नाराबाजी गरे ।
प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेपछि जेनजी युवाहरू र सुरक्षाकर्मीबीच झडप भएको थियो ।