Butwal Today

उपत्यकाको फोहोर व्यवस्थापन अवरुद्ध, २५० टिपर चल्न सकेनन्

३ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँ उपत्यकाको फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकाबाट गाडीहरू ननिस्केको हो ।

उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडातर्फ हिँड्ने करिब २५० टिपर गाडी रोकिएका छन् । स्थानीयले चालकहरूलाई फोहोर बोकेर नआउन आग्रह गरेपछि गाडीहरू रोकिएको फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले बताए ।

बञ्चरेडाँडाका स्थानीय विश्वास ढुंगानाले मागहरू पूरा नभएकाले अवरोध गर्नुपरेको बताए । ‘हाम्रा माग बारम्बार बेवास्ता भएपछि हामीले फोहोर रोक्ने कदम चाल्नुपरेको हो,’ उनले भने ।

काठमाडौँ महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जाने गर्छ भने अन्य पालिकाबाट पनि करिब ७ सय टन फोहोर पुग्ने गरेकाले कुल १४ सय टन फोहोर दैनिकरूपमा त्यहाँ विसर्जन हुन्छ ।