© 2026
दाङ, ३ मंसिर ।
दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुर र घोराही –१७ गैरागाउँमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा माला र फूल बिक्री गरेर १२ लाख आम्दानी गरेका छन् ।
कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले तीन वर्षदेखि दाङमा व्यावसायिक फूल खेती बिस्तार गरेका हुन् । उनले दाङमा १० कट्ठा जमिन मासिक दुई हजार तिर्ने गरी भाडामा लिएर फूल खेती सुरु गरेका थिए भने यो वर्ष घोराही –१७ गैरा गाउँमा १५ कट्ठा जमिन थप गरेर फूल खेती गरेका थिए ।
गत वर्ष १० कट्ठामा व्यावसायिक फूल खेती गरेका पङ्गेनीले यो वर्ष १५ कट्ठामा फूल खेती गरेका थिए । उनले यस वर्ष ‘कर्म ५५५’ जातको सयपत्री फूल खेती गरेका थिए ।
भास्करसँगै व्यवसायमा जोडिएका कृषि प्राविधिक सहायक दशरथ साउदले फूल खेतीको प्राविधिक पक्ष हेर्ने गरेका छन् ।
कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूल खेती अवलोकन गर्न आउनेलाई प्राविधिक ज्ञान दिने गरेका छन् । घोराही– १७ गैरागाउँमा फूल खेती गरिएको स्थानमा “एग्रो टुरिजम” सञ्चालन गरेका छन् ।
फूलेका फूललाई सदुपयोग गर्न र टिकटक बनाउने स्थान बनाएर रमाइलो गर्ने ठाउँ बनाइदिएको साउदले बताए । ढकमक्क फूलेका फूलले बारी मनमोहक देखिएको छ । तिहार सकिए पनि फूल ढपक्क फूलेका छन् ।
टिकटक बनाउन आउनेलाई फोटो खिच्ने ठाउँ गजबको भएको छ । घोराही–धारा पानी सडक खण्ड पर्ने सो स्थानमा बाटो हिँड्ने बटुवा सबैको मन फूलले तान्ने गरेको छ । तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए ।
पाँच लाख लगानी गरेर फूल खेती गरेको यसपालि तिहारमा १२ लाखको फूल बिक्री गरेको उनले बताए । गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो । तिहारमा फूल प्रतिकिलो ३५० देखि आठ सय सम्ममा बिक्री गरेको उनले बताए ।
दाङको फूल काठमाडौँ, बुटवल, धरान, इटहरी, सर्लाही, कपिलवस्तु, पोखरा र दाङमा बिक्री भएको भाष्कर पंगेनीले बताए । युवालाई कृषिमा आत्मनिर्भर बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
स्वदेशी उत्पादनलाई बिक्री गर्न सहयोग गर्नुपर्ने धारणा राखेका छन् । स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले एक लाख आठ हजारको फूलको बिउँ किनेर खेती सुरु गरेको उनले बताए ।
एक सय ८ युवालाई कृषि उधमी बनाउने तथा रोजगार प्रदान गर्ने अभियान अन्तर्गत देशव्यापी रूपमा युवालाई कृषिमा सहभागी हुन पङ्गेनीले आह्वान गरेका छन् ।