© २०२३
काठमान्डौ, ३ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक केहीबेरअघि प्रारम्भ भएको हो ।
बैठकमा १० वटा कार्यसूची तय गरिएको छ। सभापति रवि लामिछानेको मुद्दासम्बन्धी कानुनी अवस्था, समसामयिक राजनीति, संवाद र सहकार्यका पहलबारे पनि छलफल हुने प्रवक्ता झाले बताए ।
यस्तै, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, प्रस्तुत प्रतिवेदनको परिमार्जन, पारित प्रतिवेदन अनुसार वाचापत्र कार्यदलको विस्तार गर्ने कार्यसूची पनि बैठकमा राखिएको छ ।
पार्टीले संविधान परिमार्जन कार्यदलको संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने व्यवस्था पनि बैठकले तय गरेको छ ।
बैठकले आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गरी केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने उद्देश्यले मिडिया अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । उक्त कार्यदलले आवश्यकतानुसार घटनाबारे जानकारी संकलन गर्ने र केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्नेछ ।
साथै, राजनीति अध्ययन कार्यदल पनि गठन गर्ने कार्यसूची रहेको छ । यस कार्यदलले राजनीतिक दल, समूह र शक्तिहरूको गतिविधि नियमित अध्ययन गर्ने, विश्लेषण गर्ने, र आवश्यकतानुसार घटनाबारे जानकारी केन्द्रीय समितिमा प्रस्तुत गर्ने काम सम्हाल्नेछ ।