© २०२३
काठमान्डौ, ३ मंसिर ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको प्रस्तावमा सात दिनभित्र प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।
बुधबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले सभामुखको आचरणसम्बन्धी प्रस्तावमा हुने मतदानमा पार्टीको ह्वीप लागू हुने समेत बताए । “यसमा दलीय ह्विप किन लाग्दैन ? जुनसुकै भोटिङमा पनि दलीय ह्विप लाग्छ,” उनले भने ।
यादवका अनुसार अबको सात दिनभित्र उपसभामुखले सदन बोलाउने प्रक्रिया सुरु हुनेछ । उनले भने, “सात दिनभित्र उपसभामुखले सदन बोलाउने प्रक्रिया छ । त्यहाँ प्रस्तावकले प्रस्ताव पेस गर्नुहुन्छ, समर्थकले समर्थन जनाउनुहुन्छ र खुला छलफल हुनेछ ।”
सदनमा प्रस्ताव पेस भएपछि सभामुखलाई आफ्नो बचाउ प्रस्तुत गर्न समय दिइने उनले स्पष्ट पारे । “उपसभामुखज्यूले सभामुखलाई सफाइ पेस गर्न सदनमा बोलाउनुहुन्छ । उहाँले आफ्नो पक्ष राखेपछि मात्र प्रस्ताव निर्णयार्थ भोटिङ प्रक्रियामा जानेछ,” यादवले भने ।
मतदान प्रक्रियामा सभामुख हटाउने पक्षमा सदनको दुई तिहाई बहुमत पुग्दा मात्र प्रस्ताव पारित हुनेछ र सभामुख मण्डल तत्काल पदमुक्त हुनेछन् ।
सभामुख मण्डल आजको बैठकमा अनुपस्थित रहेको सन्दर्भमा यादवले भने, “संसद् सचिवालयबाट सबै माननीयलाई सूचना पठाइएको छ । उहाँलाई पनि प्रस्ताव दर्ता भएको जानकारी छ । आउने–नआउने उहाँको इच्छाको कुरा हो ।”
केही दिनअघि ७४ सांसदको हस्ताक्षरमा सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।