© २०२३
काठमान्डौ, ३ मंसिर ।
नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताअन्तर्गत थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ८ करोड रुपैयाँ) बराबरको अतिरिक्त अनुदान प्राप्त गरेको छ । यो जानकारी नेपालस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको हो ।
यससँगै एमसीसी सम्झौताअन्तर्गत नेपाललाई उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । जसमा अमेरिकाको योगदान ५५ करोड डलर र नेपाल सरकारको सहभागिता १९ करोड ७० लाख डलर रहेको छ ।
अमेरिकी दूतावासका अनुसार, यो अतिरिक्त स्रोतले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारको निर्माण पूरा गर्ने, नेपालको ऊर्जा प्रणाली सुदृढ बनाउने, र क्षेत्रीय ऊर्जा व्यापारको विस्तार सम्भव बनाउने प्रमुख उद्देश्यहरू हासिल गर्न मद्दत पुर्याउनेछ ।
साथै, यस सम्झौताले ऊर्जा ग्रिडको विश्वसनीयता सुधार्ने, बजार पहुँचमा वृद्धि गर्ने, अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा सहयोग पुर्याउने, र अमेरिकी प्रविधि तथा उत्कृष्ट अभ्यासहरूलाई नेपाली ऊर्जा पूर्वाधारमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । सम्झौताले अमेरिकी कम्पनीहरूलाई नेपाली बजारमा प्रवेश गर्ने अवसरहरू पनि प्रदान गर्ने दूतावासले जनाएको छ ।