Butwal Today

महेश बस्नेतले भने— सरकारले चुनाव गराउँछु भन्नु हास्यास्पद

३ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ३ मंसिर ।

बाराको सिमरा क्षेत्रमा जारी कर्फ्यु आदेशप्रति नेकपा एमालेका नेता महेश बस्नेतले सरकारप्रति कटाक्ष गरेका छन् । बस्नेतले फेसबुकमार्फत सरकारलाई आरोप लगाउँदै भनेका छन्, राष्ट्रिय युवा संघ नेपालको मधेस जागरण सभा रोक्नकै उद्देश्यले जेनजीको नाममा अराजक भिड सडकमा उतारिएको हो ।

उनका अनुसार सभा हुन नदिन विभिन्न दल–आवद्ध समूहलाई सडकमा उतारेपछि विमानस्थल अवरोध भएको र ५०–६० जनाको सामान्य भीड नियन्त्रण गर्न नसकेको बहानामा कर्फ्यु लगाउनु नैतिक दृष्टिले गलत कदम हो ।

बस्नेतले संविधानले सुनिश्चित गरेको सभा–सम्मेलन गर्ने अधिकार, स्वतन्त्र अभिव्यक्ति र राजनीतिक गतिविधिमा सहभागी हुने मौलिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक अभ्यासमै हस्तक्षेप गरेको आरोप पनि लगाए ।

उनले कर्फ्यु निर्णयलाई सरकारको कमजोरी र उद्देश्यमाथि प्रश्न उठाउने कदम भएको उल्लेख गर्दै फेसबुकमा लेखेका छन्—“हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो  ? नियत स्पष्ट भइसकेको छ, जनता सबै बुझिसकेका छन् । हामी यस प्रकारका अवरोधले विचलित हुने छैनौँ ।”

बस्नेतले आगामी फागुन २१ मा चुनाव गराउने सरकारको दाबी हास्यास्पद रहेको टिप्पणी गर्दै वर्तमान शासनप्रति कडा असन्तुष्टि व्यक्त गरे । उनले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा संघर्ष निरन्तर जारी रहने पनि बताएका छन् । सिमरा विमानस्थल क्षेत्रमा जेनजीले प्रदर्शन गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । बस्नेतसहितका नेताहरू हाल काठमाडौँमा रोकिएका छन् ।