© २०२३
काठमान्डौ, ३ मंसिर ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नै घरमा लागाइएको आगजनी र लुटपाटपछि अत्यन्तै भावुक स्टाटस लेख्दै ‘अमर सिंह थापाजस्तो अनुभूति भएको’ बताएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले जीवनभरि प्राधिकरण र देशका लागि सेवा गरेर पनि उल्टै लान्छना लगाइएको पीडा व्यक्त गर्दै प्रश्न गरेका छन्— “मैले के बिराएँ ? ”
शाक्यले युद्धभूमिमा रगत बगाएर पनि दरबारबाट अपमानित गरिएको अमर सिंह थापाको कथासँग आफूले भोगेको अवस्थाको तुलना गर्दै लेखेका छन्— “देशका लागि प्राण आहुति दिँदादिँदै मुलुक हार्दा दरबारले उल्टै लाञ्छना लगाएको क्षण कस्तो हुँदो हो— कल्पना मात्र गरेको थिएँ । तर आज त्यो अनुभूति वास्तवमै मैले महसुस गरिरहेको छु ।”
आफूले अत्यन्त कठिन श्रम, विदेशमा जोखिमपूर्ण काम र वर्षौँको बचतले निर्माण गरेको घर दुई दिनसम्मको आगजनी र लुटपाटपछि पूर्ण रूपमा नष्ट भएको उल्लेख गर्दै शाक्य लेख्छन्— “अफगानिस्तानमा जीवन जोखिममा राखेर मासिक ८–१० हजार डलर बचाएँ । त्यो धन, चिलिमे कम्पनीको बोनस, तलबका बचत र सञ्चयकोषको ऋण जोडेर बनाएको घर आज कालो खरानी बनेको छ ।”
उनले घरसँगै आफ्नो जीवनभरका प्रमाण, पारिवारिक स्मृतिहरू, छोराछोरीका सर्टिफिकेट, बुबाको चिनो, श्रीमतीको बिहेको सारी, फोटो रेकर्ड, डायरीहरू, हार्ड डिस्कमा संकलित ज्ञान र अनुभव सबै जलेर नष्ट भएको पीडा व्यक्त गरेका छन् । “धनसम्पत्ति लानु, तर यादहरू त छाडिदिनु नि । मुटु चसक्क हुन्छ— आँसु पनि निस्कँदैन,” उनले लेखेका छन् ।
फेसबुक स्टाटसमा उनले इमानदारीका साथ जागिर गर्दा समाजमा बस्न गाह्रो हुने, तर बेइमानी र घुसले आत्मसम्मान नदिने कठोर वास्तविकता पनि उल्लेख गरेका छन् । “इमानदारीका साथ आर्जेको यही घर मेरो पुरुषार्थ थियो । तर आज त्यो पुरुषार्थ नै मलाई नपुंसकझैँ गिज्याइरहेको छ,” उनले लेखेका छन् ।
‘शाक्यले आगजनी र लुटपाटपछि राज्य र सरकारलाई सोधेका छन्— “मैले के बिराएँ ? यदि यो तेरो सजाय हो भने भनिदेऊ । तर यदि परिवर्तनका लागि बलिदान हो भने— म देशका लागि शिर पनि चढाउन तयार छु। तर यो अर्थहीन खरानी स्वीकार्य छैन ।”
इतिहासका प्रसङ्ग उद्धृत गर्दै उनले आफूलाई ‘सालो केटो’ बनाइ बली चढाइएझैँ व्यवहार गरिएको उल्लेख गरेका छन् । “थर मिल्यो भनेर कसैलाई ‘सालो केटो’ बनाउने र बलि चढाउने प्रवृत्ति हुनु हुँदैन,” शाक्यले लेखेका छन्, “म भीम मल्ल बन्न चाहन्नँ, म त केवल बिशे नगर्ची बन्न चाहन्छु— कोही पृथ्वीनारायण बनेर आए ।”
शाक्यले प्राधिकरणमा निर्देशक, इन्जिनियर तथा विभिन्न परियोजनामा कार्यरत रहँदा आफूले कुलेखानी, मस्र्याङ्दी, चिलिमे, गमगाढ, एलडीसी लगायत क्षेत्रमा गरेको योगदान स्मरण गर्दै लेखेका छन्— “जहाँ गएँ, जुन काम गरेँ— सबै नेपालीको ऊर्जा आत्मनिर्भरता र राष्ट्रको हितका लागि मात्रै गरें ।”