Butwal Today

सरकार तोकिएको समयमा निर्वाचनको तयारीमा छ : मन्त्री खरेल

३ मंसिर २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ३ मंसिर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउने तयारी अघि बढाएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा उनले भने, “हामी तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा छौँ र त्यसका लागि वातावरण बनाइरहेका छौँ । आज पनि १२३ वटा राजनीतिक दलसँग सरकारले बैठक गरेको छ । राजनीतिक दलसँग निरन्तर संवादमा छौँ र निर्वाचनको वातावरण तयार पारिरहेका छौँ ।”

मन्त्री खरेलले चेतावनी दिँदै भने, “यदि तोकिएको समयमा निर्वाचन सम्पन्न नभए मुलुक नयाँ जोखिममा पर्न सक्छ । त्यसैले, सबै पक्षले निर्वाचनको बाटोमा मुलुकलाई अघि बढाउन सहयोग पुर्‍याउनु आवश्यक छ ।”

उनले राष्ट्रिय सभा र संसदीय समितिहरूको महत्त्वपूर्ण भूमिका हुने समेत औँल्याउँदै सदस्यहरूलाई निर्वाचन सम्पन्न गराउन सहयोग गर्न आग्रह गरे ।

साथै उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि प्राथमिकतामा राख्दै अगाडि बढाइएको जानकारी दिए ।