© २०२३
दाङ,३ मङ्सिर ।
दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तार सुरु भएको छ ।
मङ्सिर १ गतेदेखि औपचारिक रूपमा काम थालिएको परियोजना केही दिनयता अम्राई क्षेत्रबाट वास्तविक निर्माण चरणमा प्रवेश गरेको डिभिजन सडक कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर विष्टले बताए । निर्माण कम्पनीले टेन्डर स्वीकृत भएपछि संयुक्त सर्भे र कागजी प्रक्रिया अघि बढाइसकेको थियो ।
सडक विस्तारको पहिलो चरणमा दायाँ–बायाँ माटो काट्ने, भर्ने र झार–झाडी हटाउने काम चलिरहेको छ । छिट्टै सडक खण्डमा पर्ने बिजुलीका पोल सार्न आवश्यक लागत अनुमान विद्युत् प्राधिकरणलाई पठाइने तयारी गरिएको छ ।
निर्माण कम्पनीका इन्जिनियर सुनिल ढुंगानाका अनुसार माटो भरेर सम्याउने र ग्राभेल हाल्ने काम क्रमिक रूपमा अघि बढाइनेछ । २ अर्ब २४ करोड ५६ लाख रुपैयाँमा सम्झौता भएको परियोजनाले घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्ती खौवा चोकसम्म २१.५८ किलोमिटर सडकलाई चार लेनमा रूपान्तरण गर्नेछ ।
सडकले ३० मिटर क्षेत्र ओगट्नेछ र बिचमा मिडियनसहित दुवैतर्फ २/२ लेन राखिनेछ । निर्माणका लागि ३६ महिनाको अवधि तोकिएको छ । पुल निर्माण भने छुट्टै ठेक्काअन्तर्गत रहेकाले सडक विस्तारसँगै ती पहुँच सडकहरू हाल स्तरोन्नतिमा नजोडिने डिभिजन कार्यालयले जनाएको छ ।
यसअघि लमही–घोराही–तुलसीपुर सडक सुधार आयोजना अन्तर्गत गरिएको ठेक्का काम ढिलाइ र सम्झौता उल्लङ्घनका कारण तोडिएको थियो । इएक्सआइएम बैङ्क सहायतामा पुनः गर्ने–नगर्ने विवाद भएपछि चार वर्षपछि सरकारले आफूले नै बजेट व्यवस्था गरी २०८१ साउनदेखि प्रक्रिया अघि बढाएको हो ।
त्यसअनुरूप बोलपत्र मूल्याङ्कनदेखि आर्थिक प्रस्ताव खुलासम्मका सबै चरण पूरा गर्दै २०८२ असार २४ मा मदन भण्डारी राजमार्ग निर्देशनालय र दिवा/वन्दन भगवती जेभीबीच सम्झौता भएको थियो ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख विष्टका अनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट बजेट व्यवस्थापन भए पनि सडक निर्माणको काम हेर्ने सम्पूर्ण जिम्मा सडक डिभिजन दाङबाट भइरहेको छ ।
घोराही–तुलसीपुर सडक खण्डमा पर्ने पुलहरूको पहुँच सडकको कार्य पुल निर्माण कम्पनीबाटै हुने भएकाले चार लेन सडक स्तरोन्नति कार्य गर्दा पहुँच सडकको स्तरोन्नति गरिने छैन ।
यो खण्डमा पर्ने सेवार खोला पुल, हापुर खोला पुल, ग्वारखोलामा अर्को थप गर्ने पुल र काला (रानीघाट) खोला पुल चार लेनको निर्माण गर्न सडक विभाग, पुल महाशाखाबाट विगतमै सम्झौता भइसकेको थियो। ती पुल निर्माणको काम म्याद सकिँदासम्म अधिकांशमा सुरु नै भएको छैन । यी पुलका काम गराउने नियामक निकाय भने सेक्टर नेपालगन्ज हो ।
यसअघि सडक सुधार आयोजना अन्तर्गत लमही–घोराही हुँदै तुलसीपुरसम्म सडक स्तरोन्नतिका लागि ठेक्कापट्टा व्यवस्थापन भइसकेको थियो। केही निर्माणका कार्य नभएका पनि होइनन्।
तत्कालीन निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलाइ गरेको र सम्झौताका सर्तहरू उल्लङ्घन गरेकाले आयोजनाबाट ठेक्का सम्झौता तोडिएको थियो ।